पोखराको सेदीबाट अनलाइन सट्टेबाजी गराउने ८ जना पक्राउ, २० करोडको कारोबार

-


     क्लिक गण्डकी     
     असार २६ गते २०८३ मा प्रकाशित


पोखराको सेदीबाट अनलाइन सट्टेबाजी गराउने ८ जना पक्राउ, २० करोडको कारोबार

पोखराको सेदीबाट अनलाइन सट्टेबाजी गराउने ८ जना पक्राउ, २० करोडको कारोबार

पोखरा, २६ असार/ पोखराको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय जीवन श्रेष्ठको घरमा छापा मारेको थियो ।

सफ्टवेयरको काम गर्ने भन्दै ७ वटा कोठा भाडामा लिएर उनीहरूले अनलाइन गेम र सट्टेबाजी (बेटिङ) गराइरहेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई रंगेहात समातेको हो ।

प्रहरीले बरामद गरेका ३ वटा कम्प्युटरका सिटहरूमा ठूलो रकमको कारोबार भएको विवरण भेटिएको छ । एउटा सिटमा १ करोड ११ लाख ९९ हजार ११८, अर्कोमा ९ करोड २ लाख २२ हजार २६ र तेस्रोमा १० करोड ५५ लाख ६८ हजार ६९० क्रेडिट भएको देखिएको छ ।

उनीहरूले कारोबारका लागि एक्सिस बैंक, आइडिएफसी बैंक, क्यानरा बैंक, २४ पे, पे बजार, गुगल पे र नोक्सोन पे जस्ता माध्यम प्रयोग गरेको फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको भुपा मानपुरका ३४ वर्षका सत्यम सिंह रहेका छन् । उनलाई प्रहरीले सट्टेबाजी खेलाउने मुख्य व्यक्तिका रूपमा पहिचान गरेको छ । यस्तै भारतकै २४ वर्षका हर्ष उसरेटे, २३ वर्षका विशाल चाउ, २२ वर्षका जमान सिंह तमार, २७ वर्षका विक्रान सिंह, २६ वर्षका अजितेश कुमार मिश्र र २४ वर्षका सत्यम राजपूत पक्राउ परेका छन् । नेपालका तर्फबाट दार्चुलाका ३१ वर्षका दिनेश सिंह बोहोरालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

‘उनीहरूले १८ चैत २०८२ देखि घर भाडामा लिएर यो काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनास्थलबाट ठूलो परिमाणमा विद्युतीय उपकरण बरामद गरेको छ । जसमा विभिन्न कम्पनीका ७ थान ल्यापटप, ६ थान मनिटर र ३१ थान मोबाइल रहेका छन् । यस्तै ९ थान किबोर्ड, ४ थान मल्टिप्लग, १ थान १२ भोल्टको व्याट्री र १ थान युपिएस पनि फेला परेको छ । गिरोहले प्रयोग गर्ने २ थान राउटर, १६ थान चार्जर र ३४ थान भारतीय सिमकार्ड पनि बरामद भएको छ ।

अनुसन्धानका क्रममा यो गिरोहले टेलिग्राम र ह्वाट्सएप मार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामको लिङ्क पठाउने गरेको फेला परेको छ । उनीहरूले मानिसहरूलाई सोही लिङ्कमा पैसा जम्मा गर्न लगाएर रजिष्ट्रेशन गराउँथे । त्यसपछि क्रिकेट, फुटबल र क्यासिनो जस्ता खेलमा सट्टेबाजी गराउने गरेका थिए । खेल जितेका व्यक्तिहरूलाई अनलाइनबाटै रकम जम्मा गरिदिने गरेको प्रहरीले बताएको छ ।

यो गिरोहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म कमाउने गरेको खुलेको छ । यो सञ्चालनको मुख्य केन्द्र भारतमा रहेको र यो २७ औँ ब्रान्चका रूपमा पोखरामा सञ्चालन भइरहेको पाइएको छ । त्यहाँ काम गर्ने एक जनाले महिनाको २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए । अनलाइनबाट रकम भुक्तानी र जम्मा गर्न उनीहरूले भारतीय नागरिकका बैंक खाताहरू भाडामा प्रयोग गर्ने गरेको देखिएको छ ।

प्रहरीका अनुसार उनीहरूले भाडामा लिएको घरमा खाने, बस्ने र गेम खेलाउने सबै व्यवस्था मिलाएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा यो सफलताको जानकारी दिइएको हो । घटनाको प्रकृति हेर्दा यसमा अन्तरदेशीय गिरोहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । पोखरामा पछिल्लो समय प्रविधिको प्रयोग गरी हुने यस्ता अपराधहरू बढ्दै गएका छन् । उनीहरूले प्रयोग गरेका सबै उपकरण र खाताहरूको थप प्राविधिक विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।