
शोभा गौतम
पोखरा, २५ असार/ पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औँ महाधिवेशन भदौ २० र २१ गते हुदैछ । वाणिज्य संघको बिहीबार बसेको कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ ।
पोखरा उद्योग वाणिज्य संघकी वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव सँगालेकी गौतमले संस्थागत विकास र व्यवसायीहरूको हकहितका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् ।
उम्मेदवारी घोषणा गर्दै महासचिव गौतमले पदभन्दा कामलाई प्राथमिकता दिने नेतृत्व आजको आवश्यकता रहेको बताइन् । उनले मेरो मूल मन्त्र सधैं एउटै रह्यो— पदभन्दा काम ठूलो हुन्छ, उनले भनेकी छन्, ‘जिम्मेवारीलाई अवसरका रूपमा होइन, सेवाका रूपमा ग्रहण गर्दै संस्था र व्यवसायीहरूको हितमा इमानदारी, निष्ठा र समर्पणका साथ निरन्तर काम गरेकी छु । नेतृत्वको वास्तविक परिचय पदले होइन, कामले दिन्छ ।’
गौतमले संघको इतिहासमा हालसम्म कुनै पनि महिलाले नेतृत्व सम्हाल्ने अवसर नपाएको स्मरण गराउँदै आफ्नो उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा मात्र नभएको प्रष्ट पारिन् । आफूलाई उद्योगी–व्यवसायीकै ुछोरी–चेलीु का रूपमा प्रस्तुत गर्दै गौतमले भनिन् ‘सुख–दुःख, चुनौती र अवसरका प्रत्येक यात्रामा यहाँहरूले ममाथि देखाउनुभएको विश्वासलाई अब अध्यक्षका रूपमा अझ ठूलो जिम्मेवारी र समर्पणका साथ सार्थक बनाउनेछु।’
आफ्नो कार्यशैली अनुभव, पारदर्शिता, उत्तरदायित्व, सुशासन र सबैलाई साथमा लिएर हिँड्ने खालको हुने प्रतिबद्धता उनको छ । ‘विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो हुनेछ। आउनुहोस्, हामी सबै मिलेर कामलाई प्राथमिकता दिने नेतृत्व, बलियो संस्था र समृद्ध व्यवसायको नयाँ अध्याय सुरु गरौँ,’ उनले भनिन् ।
गौतमले केही समयपछि आफू सक्षम, समावेशी र प्रतिबद्ध टिमसहित औपचारिक रूपमा उद्योगी–व्यवसायीमाझ उपस्थित हुने जानकारी दिइन् । ‘त्यस अवसरमा हाम्रो साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजनाहरू पनि सार्वजनिक गर्नेछौँ,’ उनले थपिन् ।
पोखराको निजी क्षेत्रको जेठो र प्रतिष्ठित संस्था भएकाले पोखरा उद्योग वाणिज्य संघको यो महाधिवेशन र गौतमको उम्मेदवारीलाई पोखराका व्यवसायीहरूले निकै चासोका साथ हेरेका छन्।
आदरणीय उद्योगी–व्यवसायीज्यूहरूमा हार्दिक नमस्कार।
पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति बैठकबाट संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते सम्पन्न गर्ने निर्णय भएको छ।
यस ऐतिहासिक अवसरमा, म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण उद्योगी–व्यवसायीज्यूहरूसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु।
मेरो संस्थागत यात्रा विभिन्न उपसमितिहरूमा सक्रिय रूपमा काम गर्दै सुरु भएको हो। त्यसपछि कार्यसमिति सदस्य, उपमहासचिव हुँदै पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला महासचिव बन्ने अवसर दिनुभयो । यो यात्रा मेरो एक्लो प्रयासको परिणाम होइन, यहाँहरूले मप्रति देखाउनुभएको विश्वास, माया, साथ र निरन्तरको हौसलाको प्रतिफल हो। यसका लागि सम्पूर्ण उद्योगी–व्यवसायी परिवारप्रति म हृदयदेखि नै कृतज्ञ छु।
मेरो मूल मन्त्र सधैं एउटै रह्यो— “पदभन्दा काम ठूलो हुन्छ।” जिम्मेवारीलाई अवसरका रूपमा होइन, सेवाका रूपमा ग्रहण गर्दै संस्था र व्यवसायीहरूको हितमा इमानदारी, निष्ठा र समर्पणका साथ निरन्तर काम गरेकी छु। मेरो दृढ विश्वास छ— नेतृत्वको वास्तविक परिचय पदले होइन, कामले दिन्छ।
आजसम्म पोखरा उद्योग वाणिज्य संघको इतिहासमा कुनै पनि महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छैन। त्यसैले मेरो उम्मेदवारी केवल एउटा व्यक्तिगत आकांक्षा होइन, अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनप्रतिको सामूहिक विश्वासको अभियान हो।
म तपाईहरूकै छोरी–चेली हुँ। सुख–दुःख, चुनौती र अवसरका प्रत्येक यात्रामा यहाँहरूले ममाथि देखाउनुभएको विश्वासलाई अब अध्यक्षका रूपमा अझ ठूलो जिम्मेवारी र समर्पणका साथ सार्थक बनाउने अवसर प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
अनुभव, पारदर्शिता, उत्तरदायित्व, सुशासन र सबैलाई साथ लिएर अघि बढ्ने कार्यशैलीका साथ पोखरा उद्योग वाणिज्य संघलाई अझ सशक्त, समावेशी, व्यवसायीमैत्री र भविष्यमुखी संस्थाका रूपमा विकास गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु।
आउनुहोस्, हामी सबै मिलेर कामलाई प्राथमिकता दिने नेतृत्व, बलियो संस्था र समृद्ध व्यवसायको नयाँ अध्याय सुरु गरौँ।
यस अध्यायलाइ अझ सशक्त र व्यवस्थित रूपमा अगाडि बढाउने क्रममा केही समयपछि म आफ्नो सक्षम, समावेशी र प्रतिबद्ध टिमसहित यहाँहरूमाझ औपचारिक रूपमा उपस्थित हुनेछु। त्यस अवसरमा हाम्रो साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजनाहरू पनि सार्वजनिक गर्नेछौं।
यहाँहरूको निरन्तर साथ, विश्वास , सल्लाह र शुभेच्छाको अपेक्षा राख्दछु।
विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो।
धन्यवाद।
शोभा गौतम
महासचिव, पोखरा उद्योग वाणिज्य संघ
अध्यक्ष पदकी उम्मेदवार





