पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना

-


     क्लिक गण्डकी     
     असार १९ गते २०८३ मा प्रकाशित


पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना

पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना

पोखरा, १९ असार/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा सञ्चालन बजार अनुगमनका क्रममा विभिन्न होटल, रेष्टुरेन्ट, चमेना गृह, किराना तथा खाद्य पसल गरी ११ वटा व्यवसायलाई कारबाही गरेको छ।

अनुगमनका क्रममा खाद्य गुणस्तर, सरसफाइ, मूल्यसूची, व्यवसाय दर्ता तथा नवीकरण, लेबलिङ र म्याद गुज्रिएका सामग्री बिक्रीजस्ता विषयमा अनियमितता भेटिएपछि कारबाही गरिएको हो।

असार १५ गते देखि १९ गतेसम्म पोखरा महानगरपालिकाका उपप्रमुख, स्थानीय जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले पोखराका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा मूल्यसूची नराख्ने, उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामग्री बिक्री गर्ने, पसल तथा भान्छाको सरसफाइ कमजोर रहेको, व्यवसाय दर्ता तथा नवीकरण नगरेको, खरिद–बिक्रीको बिल उपलब्ध गराउन नसकेको लगायतका कमजोरी फेला परेका थिए।

कारबाहीमा परेका व्यवसायमध्ये बैदामस्थित श्रीकृष्ण मारवाडी रेष्टुरेन्ट, रामघाटस्थित सुनिल ब्याट्रिन तथा खुद्रा कपडा पसल, फूलबारीस्थित न्यूटी किचेन प्रालि, सर्वोत्तम फुड्स एण्ड किचेन, बैदामस्थित गुड डे हस्पिटालिटी प्रालि र जेनिसा केमिकल्सलाई उपभोक्ता संरक्षण ऐनअनुसार जनही ५० हजार रुपैयाँ का दरले जरिवाना गरिएको छ।

त्यसैगरी अनुगमनका क्रममा म्याद गुज्रिएका तथा लेबलविहीन खाद्य सामग्री, बेकरीका परिकार, चिकेन प्याटिज, रंग मिसाइएको पकौडा, मसला, चिउरा, कुरकुरे, अमिलो माडा लगायतका सामग्री नष्ट गरिएको प्रशासनले जनाएको छ।

अनुगमन टोलीले व्यवसायीलाई मूल्यसूची अनिवार्य राख्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न, खाद्य सामग्रीको उचित भण्डारण गर्न, म्याद गुज्रिएका वस्तु अलग्गै व्यवस्थापन गरी नष्ट गर्न, उत्पादन तथा उपभोग्य मिति र लेबल नभएका सामग्री बिक्री नगर्न तथा खरिद–बिक्रीको बिल उपलब्ध गराउन निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तर र थप प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ।