पोखराका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार १९ गते २०८३ मा प्रकाशित


पोखराका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

पोखराका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

पोखरा, १९ असार/ कास्की प्रहरीले छुट्टाछुट्टै चार स्थानमा सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानका क्रममा ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पहिलो घटनामा, असार १७ गते साँझ पोखरा महानगरपालिका–१० उत्तमचोक क्षेत्रमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले छापा मारेको थियो।

सो क्रममा पोखरा–१० घर भई पोखरा–१५ मा रहेको स्नुकर हाउस सञ्चालन गर्दै आएकाको कोठामा खानतलासी गर्दा १३ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, असार १७ गते नै साँझ पोखरा–१५ पेन्सन क्याम्प क्षेत्रबाट एक साथबाट ०.३७ ग्राम ब्राउन सुगर, २ थान डिजिटल तराजु र १ थान मोबाइल बरामद भएपछि उनलाई पक्राउ गरिएको छ।

यस्तै, असार १८ गते बिहान पोखरा–३२ मजुवा स्थित पृथ्वी राजमार्गमा वीरगञ्जबाट पोखरा आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बस जाँच गर्ने क्रममा दुई जनाले बसको झ्यालको पर्दामा लुकाएर ल्याएको ३४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

त्यसै दिन बिहानै सोही स्थानमा काकडभिट्टाबाट पोखरा आउँदै गरेको ग प्र ००१ ख ००३२ नम्बरको सार्वजनिक बस जाँच गर्दा बसेको सिटमुनि लुकाएर ल्याएको १०५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चारवटै घटनामा पक्राउ परेका ६ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।