
पोखरामा बजार अनुगमन श्रीकृष्ण मारवाडीलाई ५० हजार जरिवाना
पोखरा, १६ असार/ जिल्ला अनुगमन समिति कास्कीले लेकसाइडस्थित श्रीकृष्ण मारवाडी रेष्टुरेन्टलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
रेष्टुरेन्टको भान्छा सरसफाइ नभएको, व्यवसाय नवीकरण नगरेको, मदिरा बिक्रीको अनुमतिपत्र नलिइकन मदिरा बिक्री वितरण गरेको भेटिएपछि जरिवाना गरिएको जानकारी कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दिए । उपभोक्ताले गुनासो गरेपछि समितिको टोली बजार अनुगमनका लागि रेष्टुरेन्टमा पुगेको थियो ।
रेष्टुरेन्टका सञ्चालक लालबाबु साहलाई ७ दिनभत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ । रेष्टुरेन्टमा सरसफाइ नभएपछि आइतबार बन्द गरिएको उक्त रेष्टुरेन्ट सरसफाइपछि सोमबार सञ्चालन योग्य भएको भन्दै नियमित संचालनको अनुमति दिएको छ ।
त्यसैगरी, सोमबार बिहान रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्यान्टिनमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा रेष्टुरेन्ट सरसफाइमा ध्यान नदिएको, तारेका खाद्यपदार्थ छरपस्ट रहेकाले उक्त क्यान्टिनका सञ्चालक उजित खड्कालाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको बरालले बताए ।
सोमबार नै पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका २ क्यान्टिनमा अनुगमन गरिएको छ । उक्त अस्पतालको भुइँतलामा रहेको क्यान्टिनमा अनुगमन गर्दा केही गुणस्तरहीन खाद्य पदार्थ भेटिएकाले नष्ट गरिएको छ । उक्त क्यान्टिनमा ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति नभेटिएको तथा भान्छासमेत सरसफाइ नभएकाले एक हप्ताभित्र उक्त क्यान्टिनका सञ्चालक सुदीप सिग्देललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
मणिपाल अस्पतालकै सर्वगुण फुड्स एण्ड किचनमा गरिएको अनुगमनमा उपभोग्य, मिति, उत्पादन मिति र लेभल नभएको बेकरी बिक्री वितरणका लागि राखिएको ४७ पिस बेकरी नष्ट गरिएको अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले दिए । उक्त किचनका सञ्चालक सन्तोष बास्तोलालाई कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, पोखरा महानगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता थियो ।





