
पोखरामा झ्याल–ढोका नाप्ने बहानामा घरभित्र पस्दै सुन र नगद चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
पोखरा, ७ असार/ पोखरा महानगरपालिका–१५ मेरिगोल्डस्थित मनिसा थापाको घरमा झ्याल–ढोका नाप्ने बहानामा प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जना प्रतिवादी पक्राउ परेका छन्।
जेठ २४ गते दिउँसो घरमा बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति “झ्याल–ढोका बनाउन नाप्न आएको” भन्दै घरभित्र प्रवेश गरेका थिए। त्यसपछि कोठाको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी भएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले प्राविधिक अनुसन्धानका आधारमा जिल्ला सर्लाही लालबन्दी नगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ शिवनगर टोल बस्दै आएका ३५ वर्षीय भुवनबहादुर साह शंकरलाई असार ४ गते पक्राउ गरेको हो।
प्रहरीले काठमाडौंको प्रहरी प्रभाग काँडाघारीको सहयोगमा उनको कोठाबाट चोरीमा संलग्न विभिन्न सुनचाँदीका गरगहना, नगद तथा घटनाका बेला लगाएको कपडा बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा साहले चोरी गरिएका सुनका बाला ६ लाख ५० हजार रुपैयाँमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा–७ मुलपानी बस्दै आएका ३५ वर्षीय बिराज सुनारलाई बिक्री गरेको खुलाएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
बरामद सामान
सुनजस्तो देखिने पहेँलो धातुको तिलहरी १ थान
चन्द्रमा १ थान
झुम्का २ थान
औँठी ३ थान
मुन्द्रा १ थान
चाँदीजस्तो देखिने बाला ४ थान
सिक्का २ थान
सिक्री १ थान
नगद रु। ८१,५००
वारदातका बेला प्रयोग गरिएको ज्याकेट र पाइन्ट





