पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार ३ गते २०८३ मा प्रकाशित


पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ

पोखरा, ३ असार/ पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिला माथि चक्कु प्रहार भएको छ ।

बुधबार करिब चार बजे पछि पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटा बस्दै आएकी ४७ वर्षीया मुना तिवारी माथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । अधिकारीको स्थायी घर लमजुङको मध्यनेपाल नगरपालिका–२ रहेको छ ।

चक्कु प्रहारबाट घाइते तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ । उनलाई उपचारका लागि पोखरा–१७ स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाई छ ।

घटनामा चक्कु प्रहार गर्ने व्यक्तिकी श्रीमती तथा घाइतेकी छोरी २८ वर्षीया सङ्गीता तिवारीको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयवासीको सहयोगमा ध्रुवराज अधिकारीलाई चक्कु सहित नियन्त्रणमा लिएको थियो । अधिकारीलाई वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।