
पोखराको लेखनाथमा टिपरको ठक्करबाट एक जनाको निधन
पोखरा, १ असार/ पोखरामा सोमबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ का ५३ वर्षीय बिष्णुबहादुर खत्री रहेका छन्।
प्रहरीका अनुसार पोखरा–२७ डाँडाकोनाक अगाडि सो दुर्घटना भएको हो । विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्वरको टिप्परले विपरित दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको बा८०प ३५३० नम्वरको मोटरसाइकललाई बिहान ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
टिप्पर र त्यसका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं २ साखरका ३३ वर्षीय पदमबहादुर थापालाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





