
बालश्रम विरुद्ध सामुदायिक सेवा केन्द्र बैदामको सचेतना प्रर्दशन
पोखरा, ३० जेठ/ विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतना मुलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपाल सँगको सहकार्यमा कार्यक्रम भएको हो ।
पोखरा ६ लेकसाईडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोक देखी बाराही चोक सम्म सचेतना मुलक प्रर्दशन गरे । लेकसिटी कलेजका विद्यार्थीहरूले समाचार, सन्देश, नारा, र प्रतीकात्मक रातो दागहरूको सेतो कपडा लगाएर प्रर्दशन गरेका थिए । उनीहरुले बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्दछ र शोषण उजुरी गर्ने बारे सन्देश मुलक प्रर्दशन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले बालबालिकालाई श्रममा लगाउन नहुने बताउदै आफुहरुले बेला बेलामा अनुगमन गर्ने गरेको बताए । उनले पोखरा पर्यटकीय क्षेत्र भएका कारण पोखरा भन्दा बाहिरबाट बालबालिकालाई ल्याएर बालश्रममा लागउने गरेको बताए ।
उनले बालबालिकालाई श्रममा तथा योनजन्य क्रियाकलापमा लगाउनेहरुलाई प्रहरीले कडा कार्वाही गर्दै आएको उल्लेख गरे । यस्ता कार्यक्रमले बालबालिकालाई श्रममा लगाउनेलाई निरुत्साहीत गर्ने उनको भनाई थियो ।
बालबालिका माथी हुने शोषण विरुद्ध जनचेतना जगाउन यस्ता कार्याक्रमहरु सामुदायी सेवा केन्द्र बैदामले गर्दै आएको र आगामी दिनमा पनि आयोजना गर्ने केन्द्रका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए ।
उनले पयटकीय क्षेत्र भएका कारण पनि लेकसाइडमा बालश्रमिक धेरै आउने र श्रमशोषणमा पर्ने गरेको बताए । सबैले बालबालिकाका क्षेत्रमा आवाज सशक्त बनाउन सके शोषणमा नपर्ने बताए ।





