
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईले सेक्टेम्बर २३ देखी उडान गर्ने
पोखरा, २६ जेठ/ संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने भएको छ । फ्लाइ दुबईले सेक्टेम्बर २३ देखी दैनिक उडान गर्न अनुमति पाएको छ ।
केही दिन अगाडी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भेटवार्ता गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने बारे छलफल गरेका थिए ।
अनुमति पाएको बताउदै पोखरा मेयर धनराज आचार्यले दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढि सहरहरू हरूसँग पोखराको पहुँच पुग्ने बताए ।
उनले लामो प्रयासपछि यो अवस्थासम्म आइपुगेको बताउदै अभियानलाई सफल बनाउन साथ, सहयोग र समन्वय गर्नुहुने नेपाल नागरिक उड्डयन प्राधिकरण, माननीय पर्यटन मन्त्री गनेश पौडेल, युनिभर्सल ट्राभल्सका चेयरमेन पराशर प्रसाई लगाएतले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।
लुकाजले फ्लाइ दुबई भेटका क्रममा पोखरा–दुबई हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धनका अवसर, उड्डयन सुरक्षाका मापदण्ड तथा दुई पक्षीय हितका विषयमा छलफल गरेका थिए ।
लुकाजले पोखराको प्राकृतिक सौन्दर्यबाट आफू प्रभावित भएको उल्लेख गर्दै फ्लाइ दुबईको उडान पोखरासम्म विस्तार हुन सके यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनी उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन तथा एयरलाइन सञ्चालनका क्षेत्रमा विशेषज्ञ मानिन्छन् ।
नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि महानगरले निरन्तर पहल गरिरहेको बताए । नेपाल र यूएईबीच पर्यटन आदानप्रदान बढाउन सिधा हवाई उडानको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले फ्लाइ दुबईलाई आवश्यक पहल गर्न आग्रह गरे।





