
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेड
पोखरा, २१ जेठ/ पोखरा महानगरपालिकाको फोहोर फाल्ने ठाउँमा ग्रिनेड भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरी स्थित फोहोर व्यवस्थापन गर्ने ठाउँमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली निस्किय पारेको छ ।
महानगरपालिकाको फोहोर बोक्ने गाडी ग १ ख ५४३७ मार्फत रातो पहिरो क्षेत्रबाट बिहीबार फोहोर सङ्कलन गर्ने क्रममा ग्रिनेड फेला परेको हो । प्रहरीका अनुसार फोहोरमा कवाडी खोज्ने क्रममा रिमा शेर्पाले ग्रिनेड भेटेकी थिइन् ।
शेर्पाले हातमा खेलाइरहेको अवस्थामा त्यहीँ कार्यरत एक्स्काभेटर चालकले देखेपछि तत्काल फोटो खिचेर सुरक्षित ठाउँमा पु¥याएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक(डीएसपी) नमराज भट्टराईको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।





