पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारत उडान

-


     क्लिक गण्डकी     
     जेठ ५ गते २०८३ मा प्रकाशित


श्री एयरलाइन्स

श्री एयरलाइन्स

पोखरा, ५ जेठ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारततर्फ सिधा उडान भएको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका भारतको मध्य प्रदेश, भोपालका गोपाल शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत भारत लगिएको हो ।

आइतबार मुक्तिनाथबाट फर्किँदा मुटु र फोक्सोमा समस्या देखिएपछि उनलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार डा राज बस्नेत र सरोज अर्यालसहितको स्वास्थ्यकर्मीको टोली लिएर श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा भोपालका लागि उडान भरेको हो । उक्त जहाज भारतको राजा भोज विमानस्थलमा अवतरण गर्नेछ ।

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा श्री एयरलाइन्सको यो चार्टर उडान तय भएको हो ।

मुक्तिनाथ दर्शनका लागि आएका श्रीवास्तव मन्त्री चौहाननिकट रहेका कारण उच्चस्तरको समन्वयमा जहाजमार्फत भारत लैजाने अनुमति प्राप्त भएको प्रबन्ध निर्देशक पोखरेलले बताए ।