कास्कीका गुरुङ सहित चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार

-


     क्लिक गण्डकी     
     वैशाख २० गते २०८३ मा प्रकाशित


कास्कीका गुरुङ सहित चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार

कास्कीका गुरुङ सहित चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार

पोखरा, २० बैशाख/ दाङ जिल्लाको लमहीमा भएको १३ औं लाटोकोसेरो संरक्षण उत्सवमा चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ। यस वर्ष प्रकृति संरक्षण पुरस्कारबाट नर्वेजियन प्राणीशास्त्री र अन्तर्राष्ट्रिय रूपमा सम्मानित उल्लू अनुसन्धानकर्ता डा। रोअर सोलहेमलाई सम्मानित गरियो।

प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित हुँदैै नर्वेजियन प्राणीशास्त्री, उल्लू अनुसन्धानकर्ता डा। रोअर सोलहेम ।
नेपालतर्फ संरक्षणविद् डा। हुमबहादुर गुरुङलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरियो। उनी बर्डलाइफ इन्टरनेसनलमा वरिष्ठ एसिया साझेदारी प्रबन्धकका रूपमा कार्यरत छन्।

यस्तै नेपालका अग्रणी ¥याप्टर वैज्ञानिकहरूमध्ये एक र हिमालयन ¥याप्टर्सका प्रमुख डा। तुलसीराम सुवेदीलाई पनि पुरस्कृत गरियो। साथै वन्यजन्तु संरक्षणका मुद्दाहरूलाई जनतामा ल्याउने लेखक र पत्रकार ददी सापकोटा पनि पुरस्कृत भएका छन्। लाटोकोसेरो संरक्षण जनचेतना जगाउँन १५ वर्ष अघिदेखि हुँदै आएको संरक्षण उत्सवमा प्रत्यक वर्ष यसरी पुरस्कृत गरिन्छ।

शुक्रबारदेखि सुरु उत्सवमा शनिवार पनि लाटोकोसेरो संरक्षणबारे जनचेतना कार्यक्रम गरिएको थियो। संरक्षण नाटक, संरक्षण संस्कृति कार्यक्रम, विज्ञबाट लाटोकोसेरो लगायत चरा, वन्यजन्तु संरक्षणका विषयमा विभिन्न कार्यक्रम पनि भएको थियो। संरक्षण उत्सवमा लाटोकोसेरा सहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जीवको संरक्षण सचेतना गराउने उद्देश्यले स्टल राखिएको थियो ।

उत्सवमा पोखराका पत्रकार कृष्णमणि बरालले गिद्ध संरक्षण फोटो प्रदर्शनी गरेका थिए । सिनो खाएर वातवारण सफाईमा महत्वपूर्ण योगदान दिने गिद्ध मानवीय व्यवहारका कारण संकटमा पर्दै गएका छन् । नेपालमा पाइने ९ प्रजातिका गिद्धका विभिन्न अवस्था झल्काउने फोटो प्रदर्शन गरेका थिए । पोखराका पुतली अनुसन्धानकर्मी अमन सुनारले पुतली संरक्षण सचेतना जगाउन पुतलीका विभिन्न प्रजातिका तस्बिर प्रदर्शन गरेका थिए ।

प्रकृतिका साथीहरू नामक संस्थाको आयोजना र अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा भएको नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव १५ वर्ष अघिदेखि प्रत्येक वर्ष फरक फरक जिल्लामा हुँदै आएको छ। संरक्षण उत्सवलाई अर्को वर्ष पनि निरन्तरता दिने प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए।