
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, ११ वैशाख/ कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रमा बिहीबार राति ६१ जनालाई पक्राउ गरेको छ । बुधबार देखि चलाएको स्वीप अपरेसनमा हिजो मात्रै १२२ जनालाई पक्राउ गरेको थियो ।
स्वीप अपरेसनमा गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउने विरुद्ध अभियान रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए । बिहीबार राती पोखराका विभिन्न वडाबाट ६१ जनालाई पक्राउ गरेको हो ।
पोखराको मोहरियाटोल, गैहपाटनबाट १४ जना, लेकसाडबाट २४ जना, बगाले टोल, सभागृहचोक, शिवालय चोक, पृथ्वीचोबाट ८ जना, काँहुडाँडा, रामबजार क्षेत्रबाट २ जना, सराङकोट, लामागाँउ, भलाम क्षेत्रबाट ४ जना, सुन्दरबजार, रिठेपानी, सैनिक बस्ती, खुदिखोलाबाट ९ जनालाइ पक्राउ परेको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध गाँजा सेवन गरेको भेटिएको छ । यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई बाधा पुर्याउने, शान्ति खलल पार्ने र जथाभाबी मोटरसाइकल चलाएर ध्वनि प्रदूषण गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पाण्डेले बताए ।





