गण्डकी प्रदेशमा आपत्कालीन कोष स्थापना गर्ने ५ करोड

-


     क्लिक गण्डकी     
     वैशाख १० गते २०८३ मा प्रकाशित


जितबहादुर शेरचन

जितबहादुर शेरचन

पोखरा, १० वैशाख/ गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि ५ करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषदेले आपत्काली कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जितबहादुर शेरचनले जानकारी दिए ।

केही समयअघि बागलुङमा फैलिएको दादुरा महामारी नियन्त्रणमा बजेट अभाव भएको घटनापछि सराकारले सबै खाले संक्रामक रोग उपचारका लागि छुट्टै कोष बनाउने निर्णय गरेको उनले बताए ।

त्यसका लागि आपत्कालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि पनि स्वीकृत गरेको छ । कार्यविधि अनुसार ५३ प्रकारका सरुवा रोगको रोकथाम र उपचारका लागि अब बजेट अभाव नहुने सरकारको दाबी छ ।

त्यसै गरी सरकारले गण्डकी प्रदेश सभा सचिवालयका लागि चार वटा गाडी खरिद गरिने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गाडी खरिदका लागि बजेट स्वीकृत गरेको छ ।

जेनजी आन्दोलनका क्रममा संसद् सचिवालयका सबैजसो गाडी जलेर नष्ट भएको थियो । अहिले सभामुख, उपसभामुख सहित पदाधिकारीहरूले गाडी पाएका छैनन् । जसका कारण दैनिक कामकाजमा समेत असर परेको भन्दै सरकारले गाडी खरिदको लागि बाटो खोलिदिएको हो ।

गाडी खरिदका लागि चार करोड रुपैयाँको सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता शेरचनले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी खरिदका लागि जोड दिइएको छ ।

यसबाहेक, प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी व्यवस्था गर्न विधेयकको अवधारणा स्वीकृत गरिएको छ ।

त्यसै गरी १ सय ९७ जना बिरामीका लागि सहायताको निर्णय गरिएको हो । १ करोड ७५ लाख रुपैयाँ सहयोग दिइने निर्णय गरिएको उनले बताए । यसमा सबैभन्दा धेरै १ सय ६८ जना क्यान्सरका बिरामी छन् ।



Tags: