
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १० वैशाख/ कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रमा बुधबार रातिदेखि चलाएको स्वीप अपरेसनमा १२२ जनालाई पक्राउ गरेको छ।
स्वीप अपरेसनमा टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउनेविरुद्ध अभियान रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए।
काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा प्रहरीले सोधपुछ गर्ने, मानिस समात्ने र भ्यानमा हाल्दै लैजाने क्रम तीव्र देखियो । यो गतिविधि बिहीबार बिहानसम्म करिब १० घन्टा जारी चेलको थियो ।
बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म करिब १०० जना प्रहरी परिचालन गरी अपरेसन चलाइएको थियो । पक्राउ पर्नेहरूमा बैदाम क्षेत्रबाट ३९ जना, रामबजारबाट २२ जना, बगरबाट १२ जना, सिसुवा क्षेत्रबाट ३८ जना र पृथ्वीचोक आसपासका क्षेत्रबाट ११ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध ९गाँजा० सेवन गरेको भेटिएको छ । ८२ जना गाँजा सेवन गरिरहेको अवस्थामा भेटिएका थिए । यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई बाधा पुर्याउने, शान्ति खलल पार्ने र जथाभाबी मोटरसाइकल चलाएर ध्वनि प्रदूषण गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको पृष्ठभूमि र गतिविधिबारे अनुसन्धान जारी छ । पोखरामा लागुऔषध प्रयोगकर्ता र कारोबार बढ्दै गएको तथा ‘जेनजी’ आन्दोलनपछि गुण्डागर्दीसम्बन्धी गुनासो बढेपछि यस्तो अपरेसन सञ्चालन गरिएको हो ।







