
गण्डकीमा ८ मन्त्री फेरिए, मन्त्री पद नपाएपछि काग्रेस सासंद कुँवरले दिए राजिनामा
पोखरा, २ बैशाख/ गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन् । भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् ।
यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।
यसैगरी एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन् ।
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ । उनीहरुले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
मन्त्री पद नपाएपछि काग्रेस सासंद कुँवरले दिए राजिनामा
मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका हुन् ।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन् ।
राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना समेत गरेका छन् ।
कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन् । गण्डकी प्रदेशको मन्त्रिपरिषद् जान उनी आकांक्षी थिए ।






