पोखराकी सिर्जनालाई हत्या भाञ्जाले गरेको खुल्यो, दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     चैत्र २७ गते २०८२ मा प्रकाशित


पोखराकी सिर्जनालाई हत्या भाञ्जाले गरेको खुल्यो, दुई जना पक्राउ

पोखराकी सिर्जनालाई हत्या भाञ्जाले गरेको खुल्यो, दुई जना पक्राउ

पोखरा, २७ चैत/ पोखरा महानगरपालिका– ८, सभागृहचोकमा बुधबार हत्या भएकी सिर्जना पौडेल केसीलाई आफ्न्तले नै खुडा प्रहार गरेर हत्या गरेको खुलेको छ । प्रहरीले घटना लगत्तै गरेको प्रारम्भिक अनुसन्धानमा पारिवारिक कलहको शिकार भएर हत्या भएको खुलेको हो ।

उनको हत्यामा संलग्न भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारलाई प्रहरीले नियन्त्रणमा लिइ शुक्रबार सार्वजनीक गरेको छ । पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ शिल्मी स्थायी ठेगाना भएका २७ वर्षीय केसीलाई प्रहरीले बुटवल– २ मनकामना टोलबाट पक्राउ गरेर ल्याएको कास्कीका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिए ।

प्रहरीले पोखरा– ७ मुस्ताङ चोकबाट घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर र पोखरा– १६, बिरौटास्थित तितेपानी जंगलबाट घटना प्रयोग भएको धारिलो हतियार खुँडा बरामद गरेको कार्कीले बताए ।

भाञ्जा सन्तोष आपराधिकत पृष्ठभूमिका व्यक्ति हुन् । उनका विरुद्ध २०८० माघ २४ गते वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार मुद्दा चलेको थियो । २०८२ असार ५ गते बैदाम प्रहरीमै चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए । २०८२ साउन २३ गते इलाका प्रहरी कार्यालय, सिसुवा, कास्कीबाट फेरि चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए ।

परियार लागुऔषध मुद्दामा २०७५ असोज ११ र २०७६ वैशाख १७ मा जिल्ला प्रहरी कास्कीबाट कारवाहीमा परेका थिए ।
पोखरा उपमहानगरपालिका–५ मा बस्ने सिर्जनाको पृथ्वीचोकमा जुत्ता पसल थियो । मालेपाटनका कृष्ण केसीसँग उनको पाँच वर्षअघि विवाह भएको थियो । जेठी पत्नी मृत्यु पछि सिर्जनासँग विवाह गरेका थिए ।

विवाहपछि एक छोरीको जन्म भएको थियो । अहिले छोरी चार वर्षकी भइन् । कृष्णको निधन दुई वर्षअघि भएको थियो । कृष्णको जेठीतर्फका छोरा लागुऔषध मुद्दामा कास्की जिल्ला कारागारमा कैद छन् । पतिको निधनपछि परिवारमा अंशको किचलो शुरु भएको थियो । सोही कारण सृजनाको हत्या भएको प्रहरीको भनाई छ । सिर्जनाका माइतीले पनि उनको हत्यामा परिवारकै सदस्य संलग्न रहेको दाबी गर्दै अनुसन्धानका लागि प्रहरीलाई दबाब दिँदै आइरहेका थिए ।

पक्राउ परेका केसी र परियारका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइने छ । उक्त कसुरअन्तर्गत १७७ बमोजिमको कसुर गर्ने, गराउने व्यक्तिलाई जन्म कैदको सजायको व्यवस्था छ ।