
फेवाताल मापदण्डमा परेका संरचना भत्काउन सुरु, वाटर फ्रण्ट रिसोर्टको स्वीमिङ पुल डोजर
पोखरा, २१ चैत/ सरकारले फेवाताल छेउछाउमा मापदण्डमा परेका घर टहरा भत्काउन सुरू गरेको छ । सरकार र पोखरा महानगरपालिकाले टोलीले शनिबार बिहान डोजर लगाएर फेलाताल छेउछाउका मापदण्डमा परेका टहरा भत्काएका हो । शनिबार बिहान ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको महानगरले जानकारी दिएको छ ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी, महानगर प्रहरी प्रहरी सहित टोली दुईवटा डोजर लिएर टहराहरू भत्काउन झिस्मिसेमै पुगेको थियो । नवगठित संघीय सरकारले फेवातालको मापदण्डमा परेका संरचना बारे १०० कार्यसूचीमा फेवातालको विषय उल्लेख गरिएको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचायले अदालतको आदेश कार्यान्वयन गर्न अनाधिकृत संरचना हटाइएको बताएका छन् । तालको ६५ मिटर क्षेत्र खाली गर्न काम अघि बढाइएको उनले बताए । यसअघि अदालतले अनधिकृत संरचना हटाउने आदेश दिएको थियो ।
पर्यटन व्यवसायी कर्ण शाक्यको पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रण्ट रिसोर्टको संरचनामा पनि डोजर चलेको छ । रिसोर्टको स्वीमिङ पुल र पर्खामा पोखरा महानगरपालिकाले शनिबार बिहान डोजर लगाएको हो । सर्वोच्च अदालतले फेवाताल किनारदेखि ६५ मिटरसम्म कुनै संरचना बनाउन नदिनू, बनाएको भए ६ महिनाभित्र भत्काउनू भनेकाले सिम्बोलिक रूपमा डोजर चलाएको बताएको छ ।
सर्वोच्च अदालतले फेवाताल किनारमा २०३१ सालअघि दर्ता भएका जग्गाको जग्गाधनीलाई मुआब्जा दिन भनेको छ भने त्यस पछाडि दर्ता भएको जग्गाको दर्ता खारेज गर्न भनेको छ । मुआब्जा दिनुपर्ने जग्गामा बनेका संरचनाको भने मुआब्जा दिन नपर्ने निर्णयमा उल्लेख छ । सरोकारवालाले भने सम्बन्धी व्यक्ति र व्यवासायीलाई थाहा नै नदिइ डोजर आतंक मचाएको बताएका छन् । व्यक्ति सुतिरहेको घर र पर्यटक बसिरहेको होटलमा एक एक डोजर आतंक मच्चाएको फेवाताल पिडित सरोकार समितिका अध्यक्ष नविन बरालले बताए ।
वाटर फ्रण्ट रिसोर्टले चर्चेको जग्गा पर्ति रहेको भन्दै अदालतले भत्काउन आदेश दिएको थियो । आदेशसँगै वाटर फ्रन्ट रिसोर्ट भत्काएर उक्त जग्ग्गा हरियाली क्षेत्र वा बगैंचाको रूपमा बाहेक भौतिक संरचना बनाउन नपाइने उल्लेख छ ।
पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । डोजरले भत्काएका संरचनाहरु सडक अवरुद्ध गरेका थिए । पछि प्रहरी पुगेर सडक खुलाएको छ ।





