धनुष बचत तथा ऋण सहकारी बचत कर्तालाई जोहेरी दिन आह्वान

-


     क्लिक गण्डकी     
     चैत्र १३ गते २०८२ मा प्रकाशित


धनुष बचत तथा ऋण सहकारी बचत कर्तालाई जोहेरी दिन आह्वान

धनुष बचत तथा ऋण सहकारी बचत कर्तालाई जोहेरी दिन आह्वान

पोखरा, १३ चैत/ जिल्ला प्रहरी कार्यालय कास्कीले धनुष बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तालाई प्रमाणसहित जाहेरी दर्ता गर्न आह्वान गरेको छ । सहकारीका सञ्चालक र पदाधिकारीले निक्षेपकर्ताको रकम फिर्ता नगरी हिनामिना र ठगी गरेको उजुरी परेपछि प्रहरीले चैत २५ गतेभित्र कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९, सामसुङ गल्लीमा सञ्चालित यो सहकारीका व्यवस्थापक र विभिन्न समयमा रहेका सञ्चालक समिति सदस्यले निक्षेपकर्ताको रकम फिर्ता नगरेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशबाट चैत ८ गते प्राप्त कागजात र पत्रका आधारमा प्रहरीले सहकारी ऐन २०७४ बमोजिम अनुसन्धानअघि बढाएको छ । मुद्दा दर्ता भएसँगै प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको प्रक्रियालाई तीव्रता दिँदै प्रहरीले पीडित बचतकर्तालाई आफ्नो रकम दाबी गर्न प्रमाणसहित आउन भनेको छ ।
प्रहरीले बचतकर्तालाई मात्र नभई सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत चेतावनी दिएको छ । सहकारीबाट ऋण लिई हालसम्म चुक्ता नगर्ने ऋणीलाई तत्काल जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न भनिएको छ ।

धनुष बचत तथा ऋण सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले दिएको प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कास्कीले सहकारीका सचिब विराज सुबेदी, व्यवस्थापक जगत पौडेल र ऋण उपसमितिका सदस्य कृष्णबहादुर जैसी पक्राउ गरेको हो ।