
विद्यार्थीले सिकाए सडकमै गणित
पोखरा, ३ चैत/ अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ । गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो ।
समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा मात्र नभई सर्वसाधारणलाई पनि गणितको महत्व बुझाउने प्रयासस्वरुप सडकमै गणित पढाउने अभ्यास गरिएको बताए । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।
‘म्याथम्याटिक्स एण्ड होप’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीले ‘टावर अफ हनोई’, ‘टेनग्राम पजल,’ ट्रयांगल फर्मेसन पजल, म्याजिक स्क्वायर लगायतका विभिन्न गणितीय खेलहरु खेलाइएको थियो । कार्यक्रममा बालबालिकादेखि पाको उमेरसम्मका अभिभावकले सहभागिता जनाएका थिए ।
समाजका अध्यक्ष डा. शर्माले यस्ता कार्यक्रमले सर्वसाधारण र बटुवालाई गणितप्रतिको आकर्षण बढाउने बताए । ‘गणितको महत्व बुझाउन यस्ता कार्यक्रम आवश्यक पर्छ । जीवनका हरेक क्षण गणितको महत्व छ भन्ने बुझाउन नसक्दा समस्या हो,’ उनले भने, ‘गणितको महत्व सबैले बुझ्न जरुरी छ ।’ शर्माले आगामि वर्ष पनि यस्तै गतिविधि गर्दै जाने पनि प्रतिवद्धता जनाए ।
कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष शर्माले जानकारी दिए । ‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनुहुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ । हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ । त्यही मान्यता चिर्नका लागि बाटोमा गणित पढाउने कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष शर्माले भने ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले किताबी ज्ञानले मात्र सबै खालको शिक्षा प्राप्त नहुने र यस्ता अभ्यासले उनीहरुमा अतिरिक्त र व्यवहारिक ज्ञान हासिल हुने बताए । ‘संसारका अरु देशमा पनि यो अभ्यास छ । गणित नपढेका बटुवाले पनि केही कुरा जानुन । ज्ञानलाई बढी महत्व दिएर सिकाउने अभ्यास हो,’ उनले भने, ‘घरायसी व्यवहारमा पनि गणित लागु हुुन्छ । त्यसैले बटुवालाई पनि सहभागि गराएका हौ ।’
विभिन्न मनोरञ्जनात्मक तरिबाट खेल खेलाउँदै गणित सिकाउने र जित्नेलाई पुरस्कार पनि दिँदा कार्यक्रम प्रभावकारी बनेको थियो। कार्यक्रममा गणितका शिक्षक तथा प्राध्यापकले आफ्ना बिचार राखेका थिए। कार्यक्रमलाई प्रोग्रेस एजुकेसन एशोसिएसनले सघाएको थियो ।





