पोखरा बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु

-


     क्लिक गण्डकी     
     फागुन २८ गते २०८२ मा प्रकाशित


कृष्ण थापा

कृष्ण थापा

पोखरा, २७ फागुन/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको बिहीबार मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठक सकेर कुराकानी गर्दै गर्दा ढलेका उनको मृत्यु भएको हो ।

जिल्ला कमिटीको बैठकस्थल मै उनलाई हृदयघात भएको बताइएको छ । उनलाई तत्कालै मणिपाल अस्पताल लगिएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक पछि एमाले नेता कृष्ण थापालाई हृदयघात भएको थियो । बैठकमा सँगै रहेका प्रत्यक्षदर्शी तथा एमाले नेता टिकाराम पङ्गेनीले बैठक पछिको सम्बोधनका क्रममा थापाले चुनावी नतिजाको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने बताएका थिए ।

बैठक सकिए लगत्तै नेता पङ्गेनी मञ्चमा पुगेर थापासँग हात मिलाउँदै थिए । सँगै बसेर कुराकानी गर्दागर्दै एक्कासि थापाको घाँटीबाट घुरेको अस्वाभाविक आवाज आयो । पंगेनीले भने– ‘हात मिलाउने बेलामा एक्कासि उहाँबाट घुरेको आवाज आयो । मैले शङ्का गरिहालेँ । जुत्ता खोलिदिएँ र तुरुन्तै गाडी मगायौँ । स्थिति अस्वाभाविक देखिने बित्तिकै गाडीमा राखी उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो ।’ ९ मिनेटकै अन्तरमा उनलाई अस्पताल पु¥याइएको थियो ।

अस्पताल परिसरमा विभिन्न पार्टीका नेता कार्यकर्ता सहित पोखराका उच्चपदस्थ र उनका समर्थक तथा शुभेच्छुकहरू भेला भएका छन् । थापाको शवलाई मणिपाल अस्पतालमा राखीएको छ । उनका छोरा विदेशमा रहेका कारण फर्किपछि उनको अन्तेष्टी गर्ने गर्ने परिवारले जनाएको छ ।



Tags: