सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागे- काग्रेस सभापति गगन थापा

-


     क्लिक गण्डकी     
     फागुन १५ गते २०८२ मा प्रकाशित


सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागे काग्रेस सभापति गगन थापा

सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागे काग्रेस सभापति गगन थापा

पोखरा, १५ फागुन/ नेपाली कांग्रेसका सभापति गगन थापाले अबको निर्वाचनपछि मुलुकमा दुई खालको अतिवादको चिन्ता रहेको बताएका छन् ।

नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले ‘निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा छ,’ एमाले र केपी शर्मा ओलीलाई लक्ष्य गर्दै उनले भने, ‘एउटा अतिवाद भदौ २३ र २४ घटनाको अवमूल्यन गर्छ । त्यो भएको हुँदै होइन भन्छ। त्यहाँ युवाहरूको सहभागिता देख्दैन । त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन ।’

यस्तै अर्को अतिवाद रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गरे । ‘यस्तै प्रकारको अर्को अतिवाद छ । जो मौका छोपेर सिंहदरबार पनि जलाउन लगाउँछ, मौका पर्दै गर्दा आफै जेलबाट पनि भाग्छ ।’ आगामी पाँच वर्षको समय सम्हाल्नुपर्ने उनले बताए । थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाउन आह्वानसमेत गरे । सभापति थापाले भदौ २४ गते सिंहदरबार लगायतका सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागेको बताए । यद्यपि उनले लामिछानेको नाम भने लिएनन् ।
उनले एक पक्ष भदौ २३ अघि केही पनि भएको छैन भन्ने र अर्को पक्ष भदौ २४ गते सिंहदरबार लगायतका सरकारी सम्पत्ति जलाएपछि परिवर्तन हुन्छ भन्ने अतिवादी रहेको र त्यो पक्षमा कांग्रेस नरहेको सभापति थापाले बताए ।

थापाले अब मुलुकले यो भन्दा बढी अतिवाद थेग्न नसक्ने बताउँदै अतिवादीलाई निर्वाचनबाट ठुलो शक्ति हुन नदिन आग्रह गरे । कांग्रेस बदलिएर र सङ्कल्प गरेर आएकाले जे भन्छ त्यो पूरा गर्ने बताए । कांग्रेसले ०४६ सालपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवा र मन्त्री भएका गगन थापाको पनि सम्पत्ति छानबिन गर्ने थापाले बताए । गल्ती गरेको भए परिवारकै मान्छे भए पनि नछोड्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरू बिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरे ।
होलीका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको गरे ।

कार्यक्रममा नेपाली काग्रेसबाट कास्कीका उमेद्वार बनेका तिलक रानाभाट, मधु बास्तोला, मनोज गुरुङ र पाटीका नेताहरुले सम्बोधन गरेका थिए । पोखराका अमरसिह चौरमा आमसभाको आयोजना गरेका थिए ।