पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन ४ गते २०८२ मा प्रकाशित


पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

पोखरा, ४ फागुन । कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कूल बस चलाएका पोखराका पाँचवटा विद्यालयका बस चालकहरूलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बिहान विभिन्न स्थानमा स्कूल बसहरूको विशेष चेकजाँच गर्दा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको फेला परेको हो । ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले गरेको जाँचका क्रममा चालकहरूले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ पर्ने चालकहरूमा कुमुदिनी होम्स बोर्डिङ स्कूलको बस चालक गौतम गुरुङ, माउन्ट हेमन बोर्डिङ स्कूलको बस चालक आनन्द परियार, बिन्देश्वरी बोर्डिङ स्कूलको बस चालक भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कूलको बस चालक डम्बर बहादुर गुरुङ र एस.ओ.एस. बोर्डिङ स्कूलका बस चालक वर्षीय पदम विक रहेका छन् ।

चालकहरूले बालबालिका बोकेर सवारी सञ्चालन गरिरहेको बेला मादक पदार्थ सेवन गरेको पाइएको हो । प्रहरीले उनीहरूमाथि मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीले यस्ता घटना रोक्न स्कूलहरूले बस चालकहरूको नियमित स्वास्थ्य जाँच, मादक पदार्थ सेवनबारे कडा अनुगमन तथा दैनिक जाँच प्रणाली लागू गर्नुपर्नेमा जोड दिएको छ । अभिभावकहरूलाई पनि स्कूल बसको अवस्था, चालकको व्यवहार र सवारी साधनको सुरक्षा मापदण्डबारे निरन्तर सजग रहन आग्रह गरिएको छ ।