
पोखरा महानगरले रातोमाटो डाँडामा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइयो
पोखरा, ४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १८ को सेदी र रातोमाटो डाँडा क्षेत्रमा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइएको छ।
महानगरपालिकाका अनुसार केही व्यक्तिहरूले महानगरको स्वीकृति विना अस्थायी संरचना निर्माण गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी टोलीले पटक–पटक निर्माण कार्य रोक्का राख्दै निर्माण सामग्री समेत नियन्त्रणमा लिएको थियो।
तर, सम्बन्धित व्यक्तिहरूले रातिको समय तथा सार्वजनिक बिदाको दिनमा समेत निर्माण कार्य जारी राखेको पछि सोमबार प्रहरीको टोलीले हटाएको हो ।
नेपाल प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले उक्त अवैध संरचना हटाए । महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि अस्थायी तथा स्थायी संरचना निर्माण गर्नु अघि अनिवार्य रूपमा सम्बन्धित निकायबाट अनुमति लिन पनि महानगरले अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।





