
क्रियापुत्री भवन निर्माणका लागि जरेवर उज्वल दिदी बहिनी समुहको ५ लाख सहयोग
पोखरा, ४ फागुन/ पोखरा वडा नम्बर ५, ६, ७ र १८ को संगम स्थल बासेको पधेरोमा आवासिय क्रियापुत्री भवन निर्माणका लागि सहयोग आएको छ । पोखरा ६ को जरेवर उज्वल दिदी बहिनी समूहले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
जरेवर उज्वल दिदी बहिनी समूहकी अध्यक्ष शान्ति पौडेलले क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् । आवासिय क्रियापुत्री भवन नहुँदा बिभिन्न जिल्लाबाट पोखरामा आएर व्यपार, व्यवसाय गर्ने र स्थानीय समेतलाई क्रिया कर्म गर्न समस्या भएपछि निमार्ण थालिएको हो ।
स्थापना काल देखि देउँसी भैलो, भजन कृतन, रत्यौली लगायतका कार्यक्रमबाट संकलन गरेको रकम भवन निर्माणका लागि सहयोग गरेको उज्वल दिदी बहिनी समूहकी अध्यक्ष पौडेले जानकारी दिइन् ।
समाजमा भएका विकृति विसंगति अन्त्य र सभ्य समाज निर्माण गरौ भन्ने उद्देश्यले २०६८ सालमा स्थापना भएको जरेवर उज्वल दिदीवहिनी समूहले विकृति विसंगति हटाउने काम पनि सक्रिय रहेको छ । समुहले समाजीक सेवा र विकासका लागि दुःखजीलो गरि संकलन गरेको रकम सहयोग गरेको समूहकी सचिव शान्ता सुवेदी तिमिल्सिनाले बताइन् ।
परिवार गुमाएर पिढा भएको समयमा सजिलो संग आवसिय रुपमा समेत क्रिया कर्म गर्न सक्ने गरी निर्माण भइरहेको क्रियापुत्री भवन निर्माणका लागि यति ठूलो रकम सहयोग गरेको उनको भनाई छ । जरेवर उज्वल दिदीवहिनी समूहले महत्वपूर्ण योगदान दिएको निमार्ण समितिका अध्यक्ष बरालले बताए ।
क्रियापुत्री भवन निर्माणका लागि स्थानीयको साथै विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व, विभिन्न संघ संस्था लगायतले सहयोग गर्दै आएको समितिले जनाएको छ । तीन तले भवन निमार्णका लागि करिब ६० लाखको लागतमा निमार्ण हुनेछ ।





