मदरल्याण्डमा सांस्कृतिक पर्वः भजनदेखि योगासम्म, कलादेखि गलासम्म

-


     क्लिक गण्डकी     
     माघ २५ गते २०८२ मा प्रकाशित


मदरल्याण्डमा सांस्कृतिक पर्वः भजनदेखि योगासम्म, कलादेखि गलासम्म

मदरल्याण्डमा सांस्कृतिक पर्वः भजनदेखि योगासम्म, कलादेखि गलासम्म

पोखरा, २४ माघ/ पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविमा तीनदिनसम्म सांस्कृतिक कार्यक्रम संचालन भयो । सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीको नाचगान मात्र विद्यालयमा आयोजना गरिएन की विद्यार्थीले चित्रकलामार्फत क्षमता देखाउने अवसर पनि त्यही कार्यक्रमलाई बनाए ।

त्यत्ति मात्र नभई भजनदेखि योगासम्मका प्रदर्शनी विद्यालयमा आयोजना गरियो । गाउने र नाच्ने कार्यक्रम त नियमित नै थिए । कलादेखि गलासम्म र भजनदेखि योगासम्मका कार्यक्रमले धेरैको ध्यान तान्न सफल भयो ।

विद्यालयले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रस्तुत गराउनका लागि हरेक वर्ष तीनदिने सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यो पटक आयोजित ३१ औं संस्करणमा पनि भजन, योगा, नाटक सहित गायन र नृत्य समेटियो । ‘विद्यार्थीले कुनै न कुनै कार्यक्रममा आफुलाई सहभागिता बनाउने मौका पाए,’ विद्यालयका प्राचार्य डा.नारायण बरालले भने, ‘जो सँग जे क्षमता छ, त्यही क्षमता विद्यार्थीले तीनदिनको अवधिमा देखाएका थिए ।’

विद्यार्थीले रुची अनुसारका कार्यक्रम पनि त्यही अवसरमा पस्केको उनले बताए । ‘फ्याकिएका सामाग्रीलाई उपयोग गरेर विभिन्न कलात्मक सामाग्री विद्यार्थीले बनाए । त्यस्तै कलामा पोख्त विद्यार्थीले विभिन्न कलाका सामाग्री बनाएर प्रदर्शनीमा राखेका थिए । भजन गाउनेले गाए, योगा गर्नेले योगाको क्षमता देखाए, नाटकका कलाकारले त्यही अनुसार अभिनय गरे,’ उनले भने, ‘नाचगान सबैतिर हुन्छ । तर, यहाँ नियमित भन्दा केही फरक रहेर विद्यार्थीको रुची अनुसारको कार्यक्रम हामीले गर्न दिएका हौ ।’

विद्यार्थीमा फरक क्षमता हुने भएकोल पनि उनीहरुका लागि कार्यक्रम त्यही अनुसार व्यवस्थापन गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । ‘तीनदिनको अवधिमा सकेसम्म बढी विद्यार्थीलाई सहभागि गराउने उद्देश्य अनुसार गतिविधि गरिए । जसले गर्दा विद्यार्थीले आफुमा लुकेको क्षमता देखाउन सके,’ आचार्यले भने, ‘नाचगानदेखि कलाकृतिसम्मका कार्यक्रमले धेरैलाई आकर्षित ग¥यो । अझ नाटक, भजन र योगाले त सहभागि अभिभावकदेखि विद्यालय परिवार नै मन्त्रमुग्ध बन्यो ।’

शनिबार अन्तिम दिनको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले मदरल्याण्ड स्कुलको रिजल्टले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिनिधित्वि गर्ने गरेको बताए । ‘विद्यार्थीको सिकाइ कक्षाकोठा भन्दा बाहिर पनि सम्भव छ भन्ने यो कला प्रदर्शनीले पुष्टि गरेको छ,’ गौतमले भने, ‘मदरल्यान्ड मावि आफैमा शैक्षिक हव बनेको छ । काठमाडौं सहित अन्य सहरका विद्यालयले शैक्षिक गुणस्तरका लागि सिक्ने थलो मदरल्याण्ड बनेको छ ।’

विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले विद्यार्थीले तीनदिन अवधिमा आयोजित कार्यक्रमबाट सहकार्यको सीप सिकेको बताए । ‘क्षमता देखाउने अवसर नपाएका विद्यार्थीले आफुलाई अब्बल सावित गर्न सके । त्यस्तै समूहमा काम गरेर सहकार्यको नमूना प्रस्तुत गरे,’ उनले भने, ‘विद्यार्थीका लागि आवश्यक सीप पस्कन विद्यालय हरदम तयार छ । विद्यालय संचालक समितिका अध्यक्ष प्रेमनारायण पोखरेलले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी क्षमताको विकास हुने बताए ।

विद्यालयका प्राचार्य बरालका अनुसार विहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रोदिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाएका थिए भने शनिबार ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेका थिए ।