कास्की प्रहरीले विदेश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     माघ २० गते २०८२ मा प्रकाशित


हत्गढी

पोखरा, १९ माघ/ सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारीको प्रलोभन देखाई ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

आफू कानून व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको तथा हाल आफ्नो होटल र विभिन्न कम्पनीहरूमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायतका पदमा नेपाली कामदारको माग रहेको भनी विश्वास दिलाई उनीहरूले ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडितहरूसँग फेसबुकमार्फत कुराकानी गरी विदेश पठाइदिने आश्वासन दिँदै ११ जना व्यक्तिबाट १० हजारदेखि २ लाखसम्म रकम असुली जम्मा १४ लाख ६० हजार ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा १९ लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र जिल्ला मुगु खप्तड गाउँपालिका वडा ११ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २८ का बिरेन्द्र रावत रहेका छन्।

उनीहरूलाई मिति २०८२ साल माघ ८ गते पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुमति लिई अनुसन्धान गरी रहेको कास्की प्रहरीका प्रवक्ता हरीबहादुर बस्नेतले जानकारी दिए ।