
कास्की २ मा ५ स्वतन्त्र उमेद्वार सहित १७ जनाको उमेद्वारी को को सहित
पोखरा, ७ माघ/ कास्की क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल र स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १७ जनामध्ये ५ जना स्वतन्त्र उम्मेदवार छन् ।
कास्की २ मा नेपाली काँग्रेसतर्फबाट माधवप्रसाद बास्तोला (मधु) र एमालेबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उत्तमप्रसाद पौडेल चुनावी मैदानमा होमिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुलीको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेमजंग गुरुङ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) प्रेमबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल, मंगोल नेशनल अर्गनाइजेसनबाट ओलबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङले मनोनयन दर्ता गराए । यसैगरी, स्वतन्त्रतर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारमा विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, नीरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल र वसन्तराज घिमिरे छन् ।
कास्की–२ मा सुरुमा एमालेबाट कृष्ण थापाले टिकट हात पारेका थिए । तर, २०५४ सालमा पोखराको मेयर भएयता पटक पटक अवसर पाएको तर नतिजा ल्याउन नसकेको भन्दै आलोचना भएपछि टिकट हेरफेर भएको थियो ।
कास्कीमा २ मा यसअघि विद्या भट्टराईले चुनाव जितेकी थिइन् । भट्टराई १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी माधव प्रसाद कंडेल १२ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए । त्यसै गरी नेकपा समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९, राष्ट्रिय प्रजातन्त्र पार्टी सुवर्ण राज पन्त ३ हजार ९ सय ९३ र स्वतन्त्र उमेद्वार महादेव गुरुङले १ हजार ३ सय ४० मत प्राप्त गरेका थिए ।





