
कास्की क्षेत्र नम्बर १ मा १७ जनाको उम्मेदवारी, एक जना स्वतन्त्र को को सहित
पोखरा, ६ माघ/ कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको विवरणअनुसार उम्मेदवारी दिने राजनीतिक दलका नेताहरू १६ जना र एक जना स्वतन्त्र उमेद्वार छन् । नेकपा एमालेबाट बैनबहादुर क्षत्री, नेपाली कांग्रेसबाट तिलक रानाभाट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खडकराज पौडेल गनेशले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, उज्यालो नेपाल पार्टीबाट मनिषा द्धा, प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट कर्ण बहादुर गुरुङ, राप्रपाबाट बाबुराम थापा र श्रम संस्कृति पार्टीका बिलबहादुर तामाङ लामाले उम्मेदवारी दर्ता दिएका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कुमार परियार, आम जनता पार्टीका हर्क बहादुर थापा, नेपाल जनमुक्ति पार्टीका मिन बहादुर दर्जी, नेशनल रिपब्लिक नेपालका यज्ञ बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट श्रीमान थापा र नेपाल मानवतावादी पार्टीका आश बहादुर दमैको पनि उम्मेदवारी परेको हो ।
कृष्णबहादुर राउतले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए । उनले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोरदत्त बराललाई पराजित गरेका थिए ।
गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गर्दा नेपाली काग्रेस किशोरदत्त बराल २३ हजार १ सय ८९ मत प्राप्त गरेका थिए । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार ९ सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ र हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १ हजार २९ मत प्राप्त गरेका थिए ।





