स्टेप बाई स्टेपका सञ्चालक बराल दम्पतीलाई पुत्रशोक, योगेशको अमेरिकामा दुर्घटनामा परि निधन

-


     क्लिक गण्डकी     
     माघ १ गते २०८२ मा प्रकाशित


स्टेप बाई स्टेपका सञ्चालक बराल दम्पतीलाई पुत्रशोक, योगेशको अमेरिकामा दुर्घटनामा परि निधन

स्टेप बाई स्टेपका सञ्चालक बराल दम्पतीलाई पुत्रशोक, योगेशको अमेरिकामा दुर्घटनामा परि निधन

पोखरा, ३० पुस/ पोखराको स्टेप बाई स्टेप माविका सञ्चालक बराल परिवारमा पुत्रशोक परेको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालका कान्छा छोरा योगेश बरालको अमेरिकामा २ जनवरीमा निधन भएको हो ।

उनी कार दुर्घटनामा परेको हुन सक्ने अमेरिकी प्रहरीलाई उद्घृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका योगेशको जन्म ७ साउन, २०४८ सालमा भएको हो । उनी स्टेप बाई स्टेप नै पढेका हुन् । ३४ वर्षको अल्पायुमै उनको निधनले सिंगो बराल परिवारमा यतिखेर बज्रचोट परेको छ ।

रमाकान्त र निर्मला दम्पतीका २ छोरा र १ छोरीमध्ये जेठा छोरा मार्सल बराल इन्जिनियर हुन् । उनी क्यानाडा बस्छन् । छोरी रोश्ना पनि अध्ययनका सिलसिलामा अमेरिकामै रहँदैआएकी छन् ।

छोरा योगेशको निधन भएको खबर रमाकान्त दम्पतीले क्यानाडामा थाहा पाएका थिए । उनीहरु अमेरिका तथा क्यानाडा भ्रमणका लागि गत २५ मंसिरमा नेपालबाट गएका थिए ।

पहिले अमेरिका हुँदै जेठा छोरा भेट्न क्यानाडा गएका उनीहरुले अप्रिय खबर सुनेपछि फेरि अमेरिका फर्किएर छोराको अस्तू लिई निधनको ११ औं दिन सोमबार नेपाल फर्किएका थिए ।

सोही दिन पोखराको सेती किनार रामघाटमा हिन्दू संस्कारअनुसार स्व. योगेशको अस्तू सेलाइएको थियो । बराल परिवारले १३ दिने किरियाकर्म सुरु गरेको छ । विभिन्न संघसंस्थामा आबद्ध रहेका रमाकान्त बराल हिसान गण्डकीका संस्थापक अध्यक्ष हुन् ।