गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उमेद्वारी को को भए उमेद्वार

-


     क्लिक गण्डकी     
     पौष २३ गते २०८२ मा प्रकाशित


गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उमेद्वारी को को भए उमेद्वार

गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उमेद्वारी को को भए उमेद्वार

पोखरा, २३ पुस/ राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उमेद्वारी परेको छ । काँग्रेस र एमाले गठबन्धनबाट दुई जना, नेपाली कम्युनिस्ट पाटी दुई जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाको उमेद्वारी परेको छ । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

काँग्रेसका तनहुँका प्राडा जगत तिमिल्सिना, एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् ।

२०८० को निर्वाचनमा पनि उनी राष्ट्रिय सभा सदस्य उम्मेद्वार थिइन् । काँग्रेस र माओवादी गठबन्धनका कारण उनी पराजित भइन् ।

त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीले मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरेले उमेद्वारी दर्ता गरेका छन् । राष्ट्रिय जनमोचाबाट कास्कीका शंकर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेद्वारी दिएका हुन् ।

फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रियसभामा दुई पद रिक्त हुँदैछन् । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् । अब हुने निर्वाचनमा पनि सोही क्लस्टरबाट सांसद निर्वाचित हुनेछन् ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । गण्डकीमा यो गठबन्धनले दुवै सिट जित्ने देखिएको छ । गण्डकीमा ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाता छन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ ।

गण्डकी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २५२ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३३० मतभार हुन्छ ।

दुवै दलको मतभार जोड्दा ५ हजार १ सय ८१ पुग्छ । यो मतभार दुईतिहाइ भन्दा बढी हो । गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरुको मतभार ९ सय ४१ मात्रै हुन्छ ।

यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । स्थानीय तहमा ४ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १ सय ६ मतभार छ । प्रदेशसभामा दुई सांसद राप्रपाका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ ।