
२७ औँ सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना प्रहरी नियन्त्रणमा
पोखरा, १६ पुस/ पोखराको लेकसाइडमा सञ्चालन भइरहेको २७औँ सडक महोत्सवका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १४ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्सवका क्रममा सडकमा मादक पदार्थ सेवन गरी हिँडडुल गर्ने, सिसाका बोतल फुटाउने तथा एक–आपसमा झैँ–झगडा गरी अशान्ति फैलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ।
घटनापछि खटिएको प्रहरी टोलीले परिस्थितिलाई नियन्त्रणमा लिँदै आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।





