
फेवातालको गाईघाट क्षेत्रबाट माटो झिक्न सुरु
पोखरा, १५ पुस/ फेवातालको गहिराई बढाउनका लागि थुप्रिएको माटो निकाल्न थालिएको छ । फेवातालको तल्लो क्षेत्रको फिर्केखोलाबाट माटो निकाल्न थालिएको हो ।
पोखरा १७ गाईघाटमा फिर्केखोला र बुलौदीखोलाबाट बगेर आइ तालमा जम्मा भएको गेग्रान निकाल्न थालिएको हो । सो क्षेत्रमा जम्मा भएको करिब ४ हजार ५ सय ५० घनमिटर गेग्रान निकाल्ने महानगरपालिका इन्जिनियर नेत्र तिमिल्सिनाले बताए ।
फेवातालको माटो ठाउँ अनुसार एकदेखि चारमिटर गहिराईसम्मको माटो निकाल्ने काम भएको उनले बताए । जसका लागि २५ लाख रुपैयाँ बजेट अघिल्लो वर्ष छुट्याएको र त्यसबाट काम गर्न सुरु गरेको उनको भनाई छ । यस वर्ष पनि थप बजेट छुट्याएको उनले बताए ।
त्यसपछि खोलाबाट बगेर आउने फोहोरजन्य वस्तु रोक्न २३ मिटर लामो चेक ड्याम निर्माण गरिने उनले बताए । फेवातालको मुहान मानिने खोलाहरुबाट वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो फेवातालमा आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ । जसका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढ्दो छ ।
फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुंगा, गिट्टी, बालुवा, प्लाष्टिक लगायत तालमा आउने गर्दछन् । फेवातालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवाताल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम क्षेत्रमा फैलिएको जनाएको छ ।





