
२७ औं पोखरा सडक महोत्सव शुरु, लेकसाइड झकिझकाउ
पोखरा, १३ जेठ/ पोखरामा तामझाम सहित सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं सडक महोत्सव शुरु भएको हो ।
महोत्सवको भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले उद्घाटन गर्दै पोखरा पर्यटनको हब भएकाले यससँग अन्य सहर र देशको कनेक्टीभिटी बढाउन सरकार लाग्ने बताए ।
पोखरालाई सडक र हवाई दुबै मार्गबाट कनेक्टीभिटी सहज बनाउनुपर्ने उनको भनाई थियो । उनले पोखराको गहना र पर्यटकीय केन्द्र भनेकै फेवाताल भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको उनको भनाई थियो ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए । त्यसै गरी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान नियमति बनाउनका लागि पहल गर्न मन्त्री घिसिङलाई आग्रह गरे ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ शुरु भको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको अवसरमा लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करीब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरु व्यवसायीहरुले पस्केका छन् ।
महोत्सव स्थल लेकसाईडलाई अहिले दुलही घर झैं सिंगारिएको छ । जहाँ सडक क्षेत्रको आकासमा ध्वजापताका लगाइएको छ भने बिजुली वत्तीले धपक्कै बालिएको छ ।
महोत्सवको उद्घाटनअघि पोखरा हल्लनचोकदेखि झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आ–आफ्नो सांस्कृतिक झाँकीसहित सहभागी भएका थिए ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, लगाएतका हुने छन् ।





