बालेन, कुलमान घिसिङ र रास्वाको मिल्ने वार्ता चलिरहेको छ- रास्वपा नेता शिशिर खनाल

-


     क्लिक गण्डकी     
     पौष ५ गते २०८२ मा प्रकाशित


बालेन, कुलमान घिसिङ र रास्वाको मिल्ने वार्ता चलिरहेको छ रास्वपा नेता शिशिर खनाल

बालेन, कुलमान घिसिङ र रास्वाको मिल्ने वार्ता चलिरहेको छ रास्वपा नेता शिशिर खनाल

पोखरा, ५ मंसिर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय सदस्य शिशिर खनालले नयाँ राजनीतिक दलहरुसंग एकताको लागि छलफल भइरहेको बताएका छन् ।

रास्वपा गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले विभिन्न दल र समूहसंग एकता र सहकार्यको छलफल भइरहेको बताए । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन), कुलमान घिसिङको पार्टी उज्यालो नेपाल लगायतका पार्टीसंग एकताको छलफल भइरहको खनालको भनाई छ ।

विचार मिल्ने दल र व्यक्तीसंग एकता गर्न रास्वपाले गठन गरेको उच्चस्तरीय वार्ता समितिका उपसंयोजक समेत रहेका खनालले बताए । उनले पार्टी सभापति रवि लामिछाने जेलवाहिर आइसकेकाले एकिकरणको लागि थप सहजिकरण हुने बताए । बिचार मिल्नेहरुलाई एकता मार्फत रास्वपाको छातामुती ल्याउने नभए चुनावी एलाएन्सको लागि प्रयास गर्ने उनको भनाई छ ।

फागुन २१ का लागि तोकिएको निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको उनको भनाई थियो । अबको निर्वाचनबाट रास्वपा सबैभन्दा ठुलो दल भएर आउने उनको दावी थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फका उम्मेदवारहरुको नामावली संकलन गरिसकेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले अनलाईन आवेदन दिएका छन् । उमेद्वार छनौटका लागि खनाल सहितको टोली पोखरा आएको छ ।

गण्डकी प्रदेश समानुपातिक उम्मेदवारको लागि ४३ जनाले आवेदन दिएका छन् । उनीहरुबाट छनौट गरिने छन् । संविधानको व्यवस्था अनुसार ६ वटा कलस्टरमा ४३ जनाले आवेदन दिएको रास्वपा गण्डकीका संयोजक राजन गौतमले जानकारी दिए । रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो ।

अवेदन दिएका मध्यबाट बढि अंक ल्याउने १३ जनाको नाम गण्डकीबाट अन्तिम बन्द सूचिमा समावेस गर्ने छ । जसमध्ये आदिवासी जनताजी ५ जना, खसआर्य ५ जना, दलित २ जना, मधेसी १ जना समानुपातिक सूचिमा पर्ने गौतमले बताए । १३ जनामध्ये ७ जना महिलाको सहभागिता सुनिश्चित हुने छ ।

पुस ६ र ७ गते प्रदेशका विभिन्न जिल्लामा घरदैलो कार्यक्रममा सहभागि गरिने संयोजक गौतमले जानकारी दिए । आवेदन दिएकाहरु सँग प्रदेश समितिले शनिबार पोखरामा छलफल समेत गरेको छ । पार्टी केन्द्रले १४ गते समानुपातिक तर्फका १ सय १० जनाको नाम बन्द सूची तयार गर्ने लक्ष्य छ ।