पोखरामा चोरी तथा डकैती गर्न ५ जना पक्राउ, सुनका गरगहना र नगद बरामद

-


     क्लिक गण्डकी     
     पौष ५ गते २०८२ मा प्रकाशित


हत्गढी

पोखरा, ५ पुस/ कास्कीमा बाटोमा हिँडिरहेका वृद्ध महिलाहरूलाई लक्षित गरी चोरी तथा डाँका गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट सुनका गरगहना, नगद तथा सवारी साधनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पुस १ दिउँसो करिब माछापुच्छ्रे गाउँपालिका–६ ठुलोकुनास्थित ८२ वर्षीया वृद्धा महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा डरत्रास देखाई कानमा लगाएको सुनको रिङ लुटिएको थियो। त्यसै दिन दिउँसो पोखरा महानगरपालिका–१९ पुरनचौरमा ६५ वर्षीया महिलाको कानमा लगाएको सुनको रिङ तीन जना अपरिचित व्यक्तिले लुटी फरार भएका थिए।

घटनाबारे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सूक्ष्म अनुसन्धान गर्दा घटनामा संलग्न ५ जनालाई चोरी गरिएका गरगहना सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्नेमा सुशील नेपाली, आशिष नेपाली सुनार, विजय पराजुली, अस्मिता नेपाली र तुलबहादुर विश्वकर्मा रहेका छन्। प्रहरीका अनुसार बरामद सामग्रीमा सुन जस्तो देखिने पहेँलो धातुको डल्लो, कानका रिङ, हातका बाला, नगद ६० हजार रुपैयाँ, तीन वटा मोबाइल फोन र एउटा स्कुटर रहेका छन्।

प्रारम्भिक अनुसन्धानबाट चोरी गरिएका गरगहना पोखरा–१ भिमकालीपाटनस्थित आशिष नेपाली सुनारको डेरामा लुकाइ राखिएको तथा केही गरगहना सुनचाँदी पसलमा बिक्री गरिएको खुल्न आएको प्रहरीले जनाएको छ। घटनामा प्रत्यक्ष संलग्न तीन जना र चोरीको धनमाल बिक्री–वितरणमा संलग्न अन्य दुई जनालाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।