पोखरा विमानस्थल भ्रष्टाचारसम्बन्धी मुद्दाः ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

-


     क्लिक गण्डकी     
     मंसिर २२ गते २०८२ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, २१ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमास्नथल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पाँच पूर्वमन्त्री, ९ पूर्वसचिवहरू सहित ५५ जनालाई मुद्दा चलाएको छ ।

अख्तियार अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीहरु, ९ जना पूर्वसचिवहरू, २ चिनियाँ कम्पनीका प्रतिनिधिसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो ।

हालसम्म दायर भएकोमध्ये विगोका दृष्टिकोणले कर फस्र्यौट आयोगको भ्रष्टाचार मुद्दापछि यो दोस्रो ठूलो मुद्दा हो । गतवर्ष संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा झण्डै ९ अर्ब बढि अनियमितता भएको भनी प्रतिवेदन तयार पारेको थियो ।

कांग्रेसबाट अर्थमन्त्री बनेका डा. रामशरण महत, एमालेबाट मन्त्री भएका भीम आचार्य र दीपक अमात्य, माओवादीबाट मन्त्री भएका पोस्टबहादुर बोगटी, माओवादीकै सिफारिसमा मन्त्री बनेका रामप्रसाद श्रेष्ठ रहेका छन् ।

बोगटीको निधन भइसकेकाले उनको मुद्दा पूर्वसांसद समेत रहेकी पत्नी राममाया बोगटीमाथि लगाइएको छ । पूर्वमन्त्रीहरुमध्ये रामकुमार श्रेष्ठ यसअघि नै गैरकानूनी सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका छन् । उनीमाथि पतञ्जली जग्गा प्रकरणमा पनि मुद्दा चलिरहेको छ । डा. महत बाहेक चार जना पूर्व पर्यटनमन्त्री हुन् ।

अख्तियारले पूर्वमन्त्रीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति तत्कालीन अध्यक्षको रुपमा जिम्मेवार ठह¥याएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणमा पर्यटनमन्त्री सञ्चालक समिति अध्यक्ष हुने व्यवस्था छ ।

अख्तियारले तत्कालीन पर्यटन सचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थसचिव सुमनप्रसाद शर्मा, कानूनसचिव भेषराज शर्मा विरुद्ध मुद्दा चलाएको छ । त्यसै गरी पर्यटन मन्त्रालयका तत्कालीन सहसचिवहरु रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, सुरेश आचार्य छन् । उनीहरू पछि सचिव भएर अवकाश पाइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिका तत्कालीन सदस्यहरु मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरीङ शेर्पा, मदन खरेल विरुद्ध पनि मुद्दा चलेको छ ।

भन्सार विभागका तत्कालीन महानिर्देशकहरु मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, सचिव भएर अवकाश भइसकेका तत्कालीन सहसचिव मधुकुमार मरासिनी, सहसचिव लोकबहादुर खत्रीलाई पनि प्राधिकरणको सञ्चालक समितिको सदस्यको हैसियतमा काम गरेबापत भ्रष्टाचार मुद्दा चलेको छ ।

प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न मानन्धर, रतीशचन्द्र लाल सुमन, उपमहानिर्देशकहरु रोशन चित्रकार, ऋषिकेश शर्मा, सुमनकुमार श्रेष्ठ माथि पनि मुद्दा चलेको छ ।

प्राधिकरणका प्रबन्धक मुरारी भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक र अहिलेका महानिर्देशक प्रदीप अधिकारी विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । खिलराज रेग्मीको सरकारका बेलामा पोखरा विमानस्थलको लागत अध्ययन गर्न परामर्शदाताको समूह गठन भएको थियो ।

समूहको नेतृत्व गरेका सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना, सदस्य विनोदानन्द चौधरी र डा. पुरुषोत्तम डंगोल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले परामर्शदाता टोलीका टिम विज्ञ डा. रबिन्द्रनाथ श्रेष्ठ, परामर्शदाता टोलीका संयोजक एवं सहप्राध्यापक सूर्य ज्ञवाली, विज्ञमा नियुक्त सन्तोषकुमार श्रेष्ठमाथि पनि मुद्दा चलाएको छ ।

पोखरा विमानस्थल निर्माणको ठेकेदार चाईना सीएएमसी इञ्जिनियरिङका तत्कालीन रिजनल जनरल म्यानेजर लिउ सेङछेङ र उक्त कम्पनीका अध्यक्ष वाङ बो विरुद्ध पनि भ्रष्टाचारमुद्दा दायर भएको छ । ५५ जना व्यक्तिमाथि भ्रष्टाचारमुद्दा चलाएको अख्तियारले निर्माण कम्पनीमाथि पनि अलग्गै मुद्दा दायर गरेको छ ।