
पर्यटकीय गतिविधिको पहिचान बन्दै सडक महोत्सव, पोखरा सडक महोत्सवको तयारी तीब्र
पोखरा, १२ मंसिर/ रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसर पारी सञ्चालन गर्दै आएको पोखरा सडक महोत्सव पोखराको पर्यटकीय गतिविधिको विशिष्ट पहिचान बनेकोमा जोड दिइएको छ ।
रेवान पोखराले २७ औं पोखरा सडक महोत्सव बारेमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बक्ताहरूले महोत्सव राष्ट्रिय एवम् अन्तराष्ट्रिय रुपमा चर्चित भैसेको बताउँदै यसलाई व्यवस्थित गराउँदै लैजानुपर्ने बताए ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पुस १३ गतेदेखि १७ गतेसम्म २७ औं पोखरा सडक महोत्सव गर्ने गरि तयारी अगाडी बढि सकेको बताउँदै यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए ।
पछिल्ला समयमा सडक महोत्सव नै भनेर आउने स्वदेशी एवम् विदेशी पर्यटकहरू आउन थालेको बताउँदै यसलाई थप व्यस्थित बनाएर लैजाने कुरामा आँफूहरू निरन्तर लागिरहेको बताए ।
रेबान पोखराका प्रथम उपाध्यक्ष एवम् २७ औं पोखरा सडक महोत्सव कार्यक्रम संयोजक बसन्त गौतमले क्रिसमस र अंग्रेजी नयाँ वर्षको समय पारेर गरिने महोत्सवका कारण यस समयमा पर्यटकीय चहलपहल बढ्ने गरेको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सडक महोत्सवकै कारण पर्यटनको बेसिजनमा पनि दुई चार दिन यहाँको पर्यटन चलायमान हुने उनको भनाई छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले अन्तराष्ट्रिय रुपमा पोखरा सडक महोत्सवको प्रवद्र्धन गर्न बोर्ड लागि परेको बताए ।
कार्यक्रममा महिला पर्यटन व्यवसायी संघ (टेवान) पोखराका अध्यक्ष शोभा पाण्डे, ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवराज भट्टराई, रेवान पोखराका महासचिब बिरेन्द्र शेरचन लगातले सडक महोत्सव र यसले पर्यटनमा पार्ने प्रभाव, शुरक्षा व्यवस्था लगायतका विषयमा चर्चा गरेका थिए ।
विभिन्न संघ सस्थाका पदाधिकारीहरुले सडक महोत्सवलाई अझ व्यवस्थीत र फरक बनाउन सबैले पहल गर्नु पर्ने बताए ।





