
पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा ७ जना पक्राउ
पोखरा, १९ कात्तिक/ पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको छ । यस्तै, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका अनुसार सहकारीको झन्डै ८९ करोड हिनामिना भएको देखिएको छ । संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेको आरोप छ । उनीहरुले ८८ करोड, ७० लाख ९८ हजार हिमामिना गरेको आरोप छ ।
कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको प्रतिबेदनमा उल्लेख छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान गरीने बस्नेतले बताए ।





