
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १४ कात्तिक/ कास्की प्रहरीले हालै प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भई प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–७, घारीपाटनका २६ वर्षीय विवश जलारी रहेका छन्। जलारीलाई प्रहरीले CANON कम्पनीको SOCO डिजिटल क्यामेरा (थान–१) र इञ्जिन नं. JLYCJB77102 तथा च्यासिस नं. MD2A36FY1JCB33360 भएको 200 CC को NS मोटरसाइकल (नम्बर प्लेट विहीन) सहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार जलारी हालसम्म ज्यान मार्ने उद्योग मुद्दामा जेलमा थुनामा रहेका थिए। उनी गत भदौ २४ गते कारागारबाट फरार भई वडा प्रहरी कार्यालय बैदाममा लुटपाट तथा चोरीमा संलग्न भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार जलारीविरुद्ध अपराधिक उपद्रव सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।





