
पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका
पोखरा, ६ कात्तिक/ तिहारमा सप्तरंगी टीका लगाएर पोखरामा नेपाली मात्रै रमाएनन् । पोखरामा विदेशी पर्यटक पनि रमाए । होटल संघ पोखराले आयोजना गरेको १८ औं भाइटिका महोत्सव विभिन्न देशका पर्यटकहरु सप्तरंगी टीका निधारमा लगाएर दंग परे ।
पर्यटकलाई पोखराको लेकसाइडमा भएको कार्यक्रममा रेन्वो चिल्ड्रन होमका वालिकाहरुले पर्यटकलाई टीका, माला, ढाका टोपी र सल उठ्दा पर्यटक दंग परे । उनीहरुले टीका लगाई सकेपछि एक अर्कालाई हेदै रमाए । निधारमा सप्तरंगी टीकाबाट सजिए पछि फोटो खिच्न व्यस्थ देखिएका थिए । नेपाली पर्व मनाउन पाएकोमा पर्यटकहरुले खुशि व्यक्त गरे ।
बालबालिकाले पर्यटकलाई नेपाली परम्परा अनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरुलाई दक्षिणा दिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको होटल संघले जनाएको छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले बताए ।
सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सव सफल भएको आयोजकको विस्वास छ । टिका र माला लगाएपछि पर्यटकहरु भैलामा छमछम नाचेका थिए ।





