वर्तमान संवैधानिक गतिरोध अन्तरसंवादः ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना’

-


     क्लिक गण्डकी     
     कार्तिक १ गते २०८२ मा प्रकाशित


वर्तमान संवैधानिक गतिरोध अन्तरसंवादः ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना’

वर्तमान संवैधानिक गतिरोध अन्तरसंवादः ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना’

पोखरा, ३१ असोज/ गत महिना जेनजी आन्दोलन बलमा बनेको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ । तर, सरकारले दलहरुसँग चुनावबारे छलफल नगरेको तथा विद्यमान राजनीतिक गतिरोधले थप अराजकता मौलाएको र शान्ति सुव्यवस्थामा खलल उत्पन्न हुँदै गएको कतिपय घटनाक्रमले देखाएका छन् ।

यसैक्रममा नागरिक समाज कास्कीले ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक अन्तरसंवाद कार्यक्रम गरेको छ ।

अन्तरसंवादमा मुख्य वक्ता थिए–उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक आधारपत्र प्रस्तुत गर्दै निर्धारित मितिमा चुनाव नभए मुलुकमा संवैधानिक राजतन्त्र पुनः स्थापना हुन सक्ने बताए । यदि त्यसो नभए, मुलुक गृहयुद्ध र प्रत्यक्ष वैदेशिक हस्तक्षेप हुन सक्ने उनको ठोकुवा थियो ।

आचार्यको कार्यपत्रमाथि पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. भीमनाथ बरालले टिप्पणी गरेका थिए । मानवअधिकारकर्मी खगराज आचार्यले आन्दोलनमा जेनजीमाथि चरालाई बन्दुकले हानेर ढलाए झैं भएकोमा दुःख व्यक्त गरे । उनले पहिले देश बचाउनुपर्नेमा जोड दिए ।

साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ ले रिसको बेलामा वेद नपढिने बताए । उनले जेनजीको आन्दोलनलाई केटाकेटी खेले झै नमान सुझाब दिए । इन्जिनियर किसान गुरूङले दलहरूले सत्तालाई म्यूजिकल चेयरको रूपमा प्रयोग गरेको टिप्पणी गरे ।

नागरिक समाज कास्कीका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मुलुकमा फेरि अर्को आन्दोलन जरुरी रहेको बताए ।

पूर्वसैनिक इन्द्रबहादुर गुरूङले राज्यको सबै संयन्त्र फेल भएको दाबी गर्दै विदेशीलाई मात्र दोष दिएर नहुने हामी आफैंले सोच्नुपर्ने बेला भएको बताए ।

कार्यक्रममा डा. रामजी शर्मा, अधिवक्ताहरु बिबि विष्ट, गीता लामिछाने, जेनजी पुस्ताका सहभागीहरुले पनि आफ्नो राय व्यक्त गरेका थिए ।

नागरिक समाज कास्कीका संस्थापक संयोजक एवं अधिकारकर्मी रामबहादुर पौडेलले स्वागत गर्दै समाजले समसामयिक विषयमा यसखालका बहस तथा समाजका विकृति, विसंगतिविरुद्ध सचेतना कार्यक्रमसमेत गर्दै आएको बताए ।

कार्यक्रम संचालन नागरिक समाज कास्कीका पूर्व संयोजक विष्णुहरि अधिकारीले गरे ।

https://www.facebook.com/reel/731803253251217