कास्कीका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

-


     क्लिक गण्डकी     
     असाेज २२ गते २०८२ मा प्रकाशित


मालपोत कार्यालय कास्की

मालपोत कार्यालय कास्की

पोखरा, २२ असोज/ कास्कीका जग्गाधनीहरुले आफ्नो जग्गाको किटानी सिफारिस गर्नुपर्ने भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचना सहित सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि जग्गा धनीलाई किटानी सिफारिस गर्न मालपोतले सूचना जारी गरिएको छ ।

कार्यालयले मंगलबार सूचना जारी गरी आन्दोलनका कारण अवरुद्ध भएका सेवाहरू पुनः सञ्चालन गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले सेवा पुनःस्थापना प्रक्रिया सुरु गरेको जानकारी दिए । सेवा पुनः सुरु गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

जग्गधनीले जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी किटानी सिफारिस र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको जग्गा धनीको तीन पुस्ते खुलेको फोटो टाँस सहितको किटानी सिफारिस बनाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गाधनीसँग भएको पारित लिखत समावेश गर्न भनिएको छ ।

जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमति पत्र पेस गर्न सूचनामा भनिएको छ । यस्तै, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर फिल्डबुक, नक्शा, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सुचना पनि दिनुपर्ने भनिएको छ ।
गुठि जग्गाको हकमा गुठि संस्थानको सहमति पत्र र आवश्यकता अनुसार अन्य प्रमाणहरु पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।