जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड र आगजनी गर्दा घाइते भएका एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     भाद्र २९ गते २०८२ मा प्रकाशित


जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड गर्दा घाइते एक जनाको मृत्यु

पोखरा, २९ भदौ/ जेनजी अन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय तोड्फोड्का क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर १० का ४३ वर्षीय विजय लामाको उपचारका क्रममा मृत्यु भएको हो ।

आगोले करिब ७० प्रतिशत शरीर जलेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल प्रशासनले लामाको शुक्रबार बिहान मृत्यु भएको जनाएको छ ।

आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए । कास्कीका अधिकांश कार्यालय ध्वस्त भएपछि उनीहरू डोजरसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । गेट भत्काउँदै कार्यालयभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।

प्रहरी कार्यालयमा डोजर लिएर प्रवेश गरेका एक युवक गोली लागेर घाइते भएका छन् र हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा ५१ जना घाइते भएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ६ जना र गण्डकी मेडिकल कलेजमा ७ जनाका उपचार भइरहेको छ भने अन्य उपचार पछि घर फर्किएका छन् । आन्दोलनका कै क्रममा घर र होटलमा जलेर २ जनाको मृत्यु भएको छ । देश भर अहिले सम्म ७२ जनाको मृत्यु भएको छ ।