
पोखरामा पनि अनिश्चितकालीन कफ्र्यू, काठमाडौंमा जेनजीको प्रदर्शनमा पाँच जनाको मृत्यु
पोखरा, २४ भदौ/ नागरिक समाज कास्कीले जेनजी पुस्ताको सोमबार शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारका तर्फबाट भएको नरसंहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जार्दै इतिहासमै कलंकित हुने गरी भएको नरसंहारको जति भत्र्सना गरे पनि कमी हुने ठहर गरेको छ ।
देशमा व्याप्त चरम भ्रष्टाचार बेथिति तथा नेताहरु र तिनका परिवारको उच्च बिलासी जीवनशैलीका साथै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दप्रति व्यापक असन्तुष्टि जनाउँदै भएको शान्तिपूर्ण प्रदर्शनमा नरसंहार र गोलाबारीबाट दर्जनौं किशोरकिशोरी र युवाहरुले अनाहक ज्यान गुमाएकोमा दुःख व्यक्त गरिएको छ ।
आज समग्र राष्ट्र नै शोकमा डुबेको यो अवस्थामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहादत प्राप्त गरेका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
‘सरकारद्वारा वाक स्वतन्त्रतामाथि लगाइएको प्रतिबन्ध तथा देशमा मौलाएको बेथिति र भ्रष्टाचारको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका भोलिका कर्णाधारमाथि गोली बर्साउनु र धरपकड गर्नु अक्षम्य अपराध हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता संविधानविरोधी हरकत तत्कालै बन्द गरी दोषी उपर कारबाहीको माग गर्दछौं । साथै सरकार पक्ष तथा जेन–जी पुस्तालाई समेत संयमता अपनाउन नागरिक समाज कास्की हार्दिक अपील गर्दछ ।’
नागरिक समाजको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा संयोजक नरेन्द्रमान लालचन, सहसंयोजक दुर्गाकुमारी शर्मा, संस्थापक संयोजक रामबहादुर पौडेल, पूर्व संयोजक विष्णुहरि अधिकारी, प्रवक्ता गोकुलबहादुर कार्की, सहप्रवक्ता सूर्यनाथ पहारी, सदस्यहरु शशी तुलाचन, शोभा श्रेष्ठ, रामकाजी श्रेष्ठ, शिवप्रसाद बास्तोला, अर्जुन भण्डारी छन् ।





