
भ्रष्टाचारविरूद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
पोखरा, २३ भदौ/ भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले आज पोखरामा पनि प्रदर्शन गर्दैछन् ।
सामाजिक सञ्जालमार्फत पोखराका युवाहरुले सोमबार बिहान १० बजे पोखरा सभागृह अगाडि विरोध प्रदर्शन गर्ने सूचना जानकारी गरेका छन् । उनीहरुले प्रदर्शनमा प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गर्न जनाएका छन् ।
सामाजिक संजाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको उनीहरुले बताएका छन् ।
देशविदेशमा रहेका आफन्तसँग कुराकानी गर्न समेत नपाएको भन्दै उनीहरुले नेताहरुले भ्रष्टाचार ढाकछोप गर्न सामाजिक संजाल बन्द गराएको आरोप लगाएका छन् ।
पोखरामा आयोजना गरिएको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनीहरुले विरोध जनाउन सम्भव भएसम्म कालो पोशाक लगाएर सहभागी हुन आह्वान गरेका छन् ।





