
प्रत्यूष पौडेल
पोखरा, १० भदौ/ पोखराका प्रत्यूष पौडेलले १८ औं अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा अनरेबल मेन्सन अवार्ड जितेका छन् ।
भारतको मुम्बईमा २६ साउनदेखि भदौ ५ सम्म चलेको प्रतियोगितामा पोखरा महानगरपालिका २३ हर्पनका पौडेलले अवार्ड जितेका हुन् ।
विश्वभरका ६३ देशका २ सय ८८ भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । ओलम्पियाडमा सहभागी खगोलशास्त्र, विद्यार्थीहरूले खगोलभौतिकी तथा सम्बन्धित विज्ञानका क्षेत्रमा आफ्नो ज्ञान र सीपको गहन परीक्षा दिएका थिए ।
६ सय पूर्णांकको प्रतियोगितामा ३ सय अंकको सैद्धान्तिक र ३ सय अंककै प्रयोगात्मक परीक्षा समावेश थियो । प्रतिस्पर्धामा अनरेबल मेन्सन अवार्ड हासिल गर्नु नेपालका लागि एक महत्वपूर्ण उपलब्धि भएको छ । पोखराका युवा प्रतिभा पौडेलले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उज्वल बनाएका छन् ।
यसअघि नेपालमा आयोजित १२ औं राष्ट्रिय खगोल ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेपछि प्रत्युष राष्ट्रिय टोलीका लागि छनोट भएका थिए । उनको यो सफलताले अन्तर्राष्ट्रिय वैज्ञानिक प्रतिस्पर्धामा नेपाली युवाहरूको बढ्दो सम्भावनालाई उजागर गरेको छ ।
आयोजक संस्थाले प्रतियोगितामा सहभागीमध्ये १ सय ७० जनालाई ५० स्वर्ण, ५१ रजत, ४३ कास्य पदक तथा २६ अनरेबल मेन्सन अवार्ड प्रदान गरेको थियो ।






