
पोखरामा शान्ति सुरक्षा पर्यटकका लागि पहिलो प्रथामिकता
पोखरा, २८ साउन/ पोखरा भ्रमण वर्ष–२०२५ को अवसर पारेर पोखरामा पर्यटकको सुरक्षाका बारेमा छलफल भएको छ । पर्यटनको राजधानी पोखराको दिगो पर्यटन हासिल गर्न शान्ति र सुरक्षालाई पहिलो प्राथमिकता राख्नु पर्नेमा छलफलमा सहभागीहरुले बताए ।
सुरक्षित पर्यटन, हाम्रो अभियान नारा सहित पोखरामा भएको कार्यक्रममा सहभागिहरुले आन्तरिक सुरक्षा, पर्यटकमैत्री पूर्वाधार र जिम्मेवार निजी क्षेत्रको सक्रियताले पर्यटन क्षेत्र व्यवसाय सफल हुने बताए ।
पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरोकारवाला, सुरक्षा निकाय र पर्यटन व्यवसायीहरुले दिगो पर्यटनका लागि शान्ति–सुरक्षा पहिलो प्रथामिकतामा राख्नु पर्ने बताए ।
सरोकारवालाहरुले दिएको सुझावलाई ममन गरी समस्या समाधान गर्नको लागि आवश्यक पहल गर्ने उनको भनाई छ । पोखरा महानगरले भ्रमण वर्षका अवसरमा २० लाख पर्यटक भित्राउले लक्ष्य राखेकोमा सबैको साथ र सहयोगले लक्ष्य पुरा हुने उनको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा पर्यटन परिषद्को समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा पौडेलले निजी क्षेत्रको मनोबल उच्च पार्ने गरी प्रशासनले काम गरिरहेको बताइन् । उनले महिला तथा बालबालिका सम्बन्धी समस्यामा सबै पक्षको सक्रियता आवश्यक रहेको उनको भनाई छ ।
गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी दिनेश कुमार आचार्यले विगतका कमजोरी सुधार्दै पोखराको पर्यटन प्रवद्र्धनका लागि आवश्यक सुरक्षा प्रत्याभूति दिने प्रतिवद्धता जनाए । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले पर्यटकमाथि हुने दुव्र्यवहारमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्दै उनले केही आपराधिक घटनामा विशेष सतर्कता अपनाएको बताए ।
परिषदका पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सुरक्षाकर्मीहरुलाई हातहतियार बिना पर्यटक क्षेत्रमा खटाउन र पर्यटन सूचना केन्द्र स्थापना गर्न माग गरे । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले रात्रीकालिन र पूर्णकालीन व्यवसायीहरुले मापदण्ड पालना नगरेको बताए ।
वोर्डका पूर्व सदस्य एवं परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटाले पर्यटनमा सुरक्षा महत्वपूर्ण हुने बताए । उनले शान्ति र सुरक्षा बिना दिगो पर्यटनको परिकल्पना गर्न नसकिने बताए । फ्रान्सका मौरिस हर्जोकले १९५० मा अन्नपूर्ण हिमाल आरोहण भएसंगै नेपालको पर्यटनको ढोका खुलेको सापकोटाले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि बहादुर बस्नेतले पर्यटक–केन्द्रित सुरक्षा समस्या र चुनौतीका बिषयमा सहजीकरण गर्ने बताए । पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा पर्यटन मैत्री उचित सुरक्षाकर्मी व्याबस्थापन गर्न माग गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, परिषदका अध्यक्ष तारानाथ पहारी, परिषदका महासचिब जीवनराज सापकोटा लगाएतले पर्यटक प्रहरी सुदृढीकरण, लेकसाइड, विमानस्थल र बसपार्क क्षेत्रमा सहज वातावरण निर्माण गर्न, रात्रिकालीन सुरक्षा, लेकसाइड, फेवाताल किनारा, बेगनास र साराङकोट क्षेत्रमा संयुक्त गस्ती र सडक–गल्लीमा लाइटिङ सहित सीसी क्यामरा जडान लगाएतका माग गरे ।





