पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०८२ मा प्रकाशित


पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता

पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता

पोखरा, २३ साउन/ पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन पोखरा १६ बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ ।

शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरको आयोजनामा साउन ३१ गते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना हुने छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समुहले ५० हजार, सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५÷५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतिष्ठानले स्थापनाकालदेखि नै द्विवार्षिक रुपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदनचन्दा स्मृति पुरस्कार र लोक कवि चेतबहादुर स्मृति पुरस्कारसहित ४ वटा पुरस्कार प्रदान गर्ने प्र्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बनाइन् ।

‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यस वर्षपनि प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष गौतमले बताईन् । प्रतियोगितामा यसअघि कृष्ण भजन मात्रै गाउन दिइदै आएको थियो । तर यस वर्ष भने कृष्ण भजनसँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन गाउन पाईने बनाइएको उनले बताईन् ।

प्रतिष्डानले राष्ट्रिय भजन प्रतियोगिताबाहेक अन्य साहित्य गोष्ठी, कार्यशाला र सेमिनारहरु पनि आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘प्रतिष्ठानले साहित्यिक धरोहर एवम् राष्ट्रिय व्यक्तिहरुको जीवन वृत्तान्त ‘समकालिन स्रष्टा र सिर्जना’ विशेष परिचर्चा कार्यक्रम पनि गर्दै आएको छ ।’

प्रतिष्ठानले साहित्य विकासमा पुस्ता हस्तान्तरणलाई ध्यानमा राखेर कविता, निबन्ध, लोककथा आदि साहित्यका विधाहरुमा सिर्जनशील प्रतियोगिताहरु राख्दै नवोदित प्रतिभाहरुको खोज्ने र साहित्यमा अभिरुची जगाउने कार्य गर्नुका साथै नेपाली भाषा साहित्यको संरक्षण एवम् संवर्धनमा जोड दिदै आएको छ ।



Tags: